अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्रमा पूर्ण क्षति नभएको राष्ट्रसंघको दाबी

इरानसँग केही महिनाभित्रै युरेनियम सम्बर्द्धन कार्य सुरु गर्ने क्षमता भएको टिप्पणी
असार १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्रमा पूर्ण क्षति नभएको राष्ट्रसंघको दाबी

काठमाडौं । परमाणु उर्जा निगरानीसम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था-आईएईएका प्रमुख राफेल ग्रोसीले सम्भावित परमाणु बम निर्माणका लागि केही महिनाभित्रै युरेनियम संवर्धन कार्य पुनः सुरू गर्न सक्ने क्षमता इरानसँग भएको बताउनु भएको छ ।

सीबीएस न्यूजसँग कुरा गर्दै ग्रोसीले अमेरिकाले गत सप्ताहान्तमा इरानका तीन वटा परमाणु केन्द्रमा गरेको आक्रमणले त्यहाँ गम्भीर क्षति पुर्याए पनि पूर्ण क्षति भने नभएको बताउनु भएको हो । 

ग्रोसीले इरानसँग अझै औद्योगिक र प्राविधिक क्षमता रहेको र उनीहरूले चाहे यूरेनियम संवर्धनको काम पुन: सुरू गर्न सक्ने बताउनु भएको छ । अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्र पूर्णरूपमा ध्वस्त भएको राष्ट्रपति डनल्ड ट्रम्पको दाबीसँग बाझिने गरी ग्रोसीको यस्तो भनाइ आएको हो । 

इरानमा अब केही पनि छैन् भनेर दाबी गर्न नसक्ने ग्रोसीको भनाइ छ । इरानको परमाणु क्षमताले अझै निरन्तरता पाउन सक्ने धारणा अघि सार्ने आईएईए पहिलो निकाय भने होइन । यसअघि अमेरिकी रक्षामन्त्रालयको गुप्तचर निकायले पनि अमेरिकी आक्रमणबाट इरानको परमाणु कार्यक्रम केही महिनाका लागि मात्रै पछाडी धकेलिएको आकलन गरेको थियो । 

यद्यपि ट्रम्पले त्यसप्रति आपत्ति जनाउनु भएको थियो भने सीआइएले पनि इरानको परमाणु केन्द्रमा ठुलो क्षति पुगेको बताएको थियो । यस्तै रक्षामन्त्री पीट हेगसेथले पनि इरानको परमाणु केन्द्रमाथि गरिएको आक्रमण ऐतिहासिक रूपमा सफल भएको दाबी गर्नुभएको थियो ।

इरान परमाणु हतियार निर्माणको नजिक पुगेको दाबीका साथ इजरायलले उसको परमाणु र सैन्य ठेगानामा जुन १३ मा आक्रमण गरेपछि दुवैबीच युद्ध सुरू भएको थियो । 

युद्ध सुरू भएको दशौं दिन इरानका तीन परमाणु केन्द्रहरू फोर्दो, नातान्ज र इश्फाहानमा शक्तिशाली बम प्रहार गर्दै अमेरिका पनि यो आक्रमणमा प्रत्यक्ष संलग्न भएको थियो । त्यसको दुई दिनपछि नै इजरायल र इरानबीच युद्धविराम भएको थियो ।

इरानले भने अमेरिकी आक्रमणबाट उसको परमाणु केन्द्रहरूमा भएको क्षतिबारे परस्पर बाझिने सन्देश सार्वजनिक गर्दै आएकोछ । सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले आक्रमणबाट अमेरिकाले खासै उपलब्धि हासिल नगरेको दाबी गर्नुभएको छ भने विदेशमन्त्री अब्बास अराघ्चीले परमाणु केन्द्रमा अत्यधिक र गम्भीर क्षति पुगेको बताउनु भएको छ ।

यसैबीच इरानले इजरायलले जुन २३ मा तेहरानस्थित एभिन जेलमा गरेको हवाई आक्रमणमा ७१ जना मारिएको जनाएको छ । एभिन जेल राजनीतिक बन्दीहरू राखिने कुख्यात जेल मानिन्छ ।