काठमाडौं । रवाण्डा र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोले वाशिङ्टनमा अमेरिकाको मध्यस्थतामा दशकौं लामो हिंसात्मक द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौताले सशस्त्र समूहहरूको निरस्त्रीकरण, फौजी गतिविधिबाट पछि हट्ने र सर्तसहित एकीकरणको आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर सम्झौताबारे सबै विवरणहरू सार्वजनिक भएका छैनन् ।
यसअघि भएका सम्झौताहरू असफल भएको पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भने यसलाई गौरवपूर्ण विजयको रूपमा प्रशंसा गर्नुभएको छ । साथै, यो सम्झौताले अमेरिकालाई कङ्गोको बहुमूल्य खनिज स्रोतहरू, विशेष गरी इलेक्ट्रोनिक्स उद्योगका लागि आवश्यक कोल्टनजस्ता सामग्रीहरूमा पहुँच दिने अपेक्षा गरिएको छ।
तर कङ्गोको आग्रहका बावजुद रवाण्डाले आफ्ना ७ हजार सैनिकहरू त्यहाँबाट पूर्ण रूपमा फिर्ता गर्न अस्वीकार गरेको छ। रवाण्डाको दाबीअनुसार उनीहरूको सैन्य उपस्थिति १९९४ को नरसंहारसँग सम्बन्धित विद्रोहीहरूबाट जोगिनका लागि मात्र हो।
सम्झौतामा शरणार्थीको फर्कने व्यवस्था, भू-अखण्डताको सम्मान, र मानवीय सहयोगको पहुँच जस्ता विषयहरू उल्लेख गरिए पनि विवरण स्पष्ट छैन।