काठमाडौँ । इजारयली सेनाको आक्रमणमा गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा ८१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ४ सयभन्दा बढी घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विस्थापितलाई आश्रय दिइएको एक रंगशाला नजिकै भएको आक्रमणमा ११ जना मारिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायली रक्षा बलले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यद्यपि, गाजाको साबरा क्षेत्रमा भएको कारबाहीमा हमास सैन्य शाखाका वरिष्ठ नेता हाखाम मोहम्मद अल-इस्सा मारिएको इजरायलले जनाएको छ ।
अल-इस्सा हमास सैन्य शाखाका संस्थापक सदस्यमध्ये एक भएको बताइएको छ । ७ अक्टोबर २०२३ मा इजरायलमाथि भएको आक्रमणको योजना र कार्यान्वयनमा अल-इस्साले भूमिका खेलेको इजरायली रक्षा बलले जनाएको छ । गाजामा इजरायलको आक्रमणमा हालसम्म ५६ हजारभन्दा बढीको ज्यान गएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अर्को हप्ताभित्र युद्धविरामको सहमति हुन सक्ने आशा व्यक्त गर्नुभएको छ । अमेरिकाको पहलमा इजरायल र इरानबीचको १२ दिन लामो संघर्ष अन्त्य भएयता कतारी मध्यस्थकर्ताहरूले पनि अमेरिकी दबाबले सम्झौता सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।
मार्चमा दुई महिने युद्धविराम इजरायली आक्रमणपछि विफल भएको थियो । १९ जनवरीदेखि सुरु भएको उक्त युद्धविरामलाई तीन चरणमा कार्यान्वयन गर्ने योजना थियो । तर पहिलो चरणमै त्यो भंग भयो ।
सम्झौताअनुसार दोस्रो चरणमा स्थायी युद्धविराम कायम गर्ने, गाजामा रहेका बाँकी जीवित बन्दी र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दी साटासाट गर्ने र इजरायली फौजलाई गाजाबाट पूर्णरूपमा फिर्ता गराउने विषय उल्लेख थियो ।
युद्धविराम र बन्दी साटासाट सम्झौताका लागि मध्यस्थकर्ताहरूले प्रयास तीब्र पारे पनि अझै सम्भव नदेखिएको हमासका एक वरिष्ठ अधिकारीले बताएको बीबीसीले जनाएको छ ।