अमेरिका-इरान आणविक वार्ता अर्को साता

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिका-इरान आणविक वार्ता अर्को साता

एजेन्सी । अमेरिका र इरानका अधिकारीहरूबीचको आणविक वार्ता अर्को साता सुरु हुने भएको छ । यो वार्ता इजरायल र इरानबीचको १२ दिने द्वन्द्वपछि पुनः सुरु हुन लागेको हो।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आगामी साताको वार्तामा इरानसँग परमाणु लक्ष्य त्याग्ने प्रतिबद्धता माग्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ट्रम्पले अमेरिकाद्वारा इरानमा गरिएको आक्रमण इजरायल र तेहरानबीचको युद्ध छिटो अन्त्य गराउने मुख्य कारण भएको दाबी पनि गर्नुभएको छ । ट्रम्पले गत आइतबारको आक्रमणमा प्रयोग गरिएका विशाल बंकर-बस्टिंग बमहरूले इरानको परमाणु कार्यक्रमलाई ध्वस्त पारेको र उक्त परिणामलाई "सबैका लागि विजय" भनेर व्याख्या गर्नुभएको छ ।

यसैबीच इरानले इजरायलले जुन १३ मा आक्रमण सुरु गरेपछि कम्तीमा ६ सय २७ जनाको मृत्यु भएको र ४९ सय जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको छ, मारिनेमा १३ जना बालबालिका छन् । उता इरानले गराएको क्षेप्यास्त्र आक्रमणमा इजरायलमा २८ जनाको मृत्यु भएको छ।

उता इजरायलले गाजामा सैन्य कारबाही अझै तीव्र भएको छ। पछिल्लो २४ घण्टामा कम्तीमा ७८ जना प्यालेस्टिनीहरू मारिएका छन्। मारिएकामध्ये ३३ जना मानवीय सहायता वितरण केन्द्रहरूमा सहायता खोज्दै गरेका मानिसहरु भएको जनाइएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म युद्धमा ५६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १ लाख ३१ हजारभन्दा बढी घाइते भएका छन्। यसैबीच, वेस्ट बैंकमा पनि हिंसा चुलिएको छ। इजरायलीहरूले एक प्यालेस्टिनी गाउँमा आक्रमण गर्दा धेरैको ज्यान गएको जनाइएको छ। यो अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चिन्ता व्यक्त गरेको छ ।

नेतन्याहु महान नायक  : ट्रम्प

यस्तै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले बुधबार बेन्जामिन नेतन्याहूलाई महान नायकको संज्ञा दिँदै नेतन्याहुको मुद्दा खारेज गरिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै नेतन्याहूले इजरायलका लागि नेतन्याहूले धेरै योगदान दिएकाले उहाँलाई माफी दिनु पर्ने बताउनुभएको हो । नेतन्याहुविरुद्ध इजरायली अदालतमा भ्रस्टाचारको मुद्दा चलिरहेको छ भने उहाँविरुद्ध अन्तर्राष्ट्रिय अदालतले समेत युद्ध अपराध अन्तर्गत पक्राउ पुर्जी जारी गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.