काठमाडौं । हमास र इजरायलबीच नयाँ युद्धविराम तथा बन्धक रिहाई सम्झौता गराउन मध्यस्थकर्ताहरूले आफ्नो प्रयासलाई तीव्र पारेको हमासका एक जना वरिष्ठ नेताले बताएका छन् ।
पछिल्ला केही घण्टामा मध्यस्थकर्ता देशहरू इजिप्ट र कतारसँगको सञ्चार गहन भएको तर इजरायलसँग अझै यस विषयमा कुरा नभएको हमासका वरिष्ठ नेता ताहेर अल नुनुले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
युद्ध अन्त्यका लागि आफूहरूले अझै कुनै नयाँ प्रस्ताव भने प्राप्त नगरेको उहाँले स्पष्ट पार्नुभएको छ । बुधबार अमेरिका र कतारले इजरायल-इरान युद्धविरामले बन्धक रिहाइको वार्ता अघि बढाउन अवसर सिर्जना गरेको र यो प्रयासले गति लिएको बताएका थिए ।
नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजरायल र इरानबीचको १२ दिने युद्धको अन्त्य भएपछि इजरायल र हमासबीच सम्झौता गराउने दिशामा उल्लेख्य प्रगति भइरहेको दाबी गर्नुभएको थियो । यस्तै कतारको विदेश मन्त्रालयका प्रवक्ता मजेद अल अन्सारीले आफ्नो देश सम्बन्धित सबै पक्षसँग सम्पर्कमा रहेको बताउनुभएको छ ।
उता इजरायली अधिकारीहरूले भने कुनै नयाँ प्रस्तावमा वार्ता भइरहेको भन्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। अमेरिकाले अघि सारेको र इजरायलले समेत स्वीकृति जनाएको प्रस्तावलाई हमासले पूर्णत अस्वीकार्य भन्दै त्यसमा संशोधन चाहेको बताएपछि गत मेको अन्तिम साता यता दुवै पक्षबीच वार्ता हुन सकेको छैन् ।
अमेरिकाले अघि सारेको प्रस्तावमा ६० दिनको युद्धविराम गर्ने र त्योअवधिमा हमासले १० जना जिवित र १८ जना बन्धकको शव हस्तान्तर गर्ने प्रस्ताव गरिएको थियो । बदलामा इजरायली सेना आंशिक रूपमा गाजाबाट फिर्ता हुने, गाजामा मानवीय सहायता आपूर्तिको मात्रा बढाउने लगायतको प्रस्ताव गरिएको थियो ।
यसअघि इजरायल र हमासबीच जनवरी १९ मा भएको युद्धविराम र बन्धक रिहाई सम्झौता मार्च १८ मा इजरायली सेनाले गाजामा पुन: भिषण कारवाही सुरू गरेपछि भङ्ग भएको थियेा ।
हमास नियन्त्रणमा अझै ५० जना बन्धक रहेका र तीमध्ये कम्तिमा २८ जना जिवित नरहेको इजरायली पक्षको विश्वास छ । यसैबीच मंगलबार दक्षिणी गाजामा आफना ७ जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ ।
यसले प्रधानमन्त्री नेतन्याहुमाथि युद्धविराम सम्झौताका लागि दबाब बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।