काठमाडौं । इजरायलले गाजामा गरेको आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तिमा ७२ जनाको मृत्यु भएको छ । गाजा युद्धविरामका लागि कूटनीतिक पहल जारी रहेको अपुष्ट खबर आइरहँदा इजरायलले आक्रमण गरेको अल जजिराले जनाएको छ ।
यस्तै गाजाको सरकारी सञ्चार कार्यालयलले पछिल्ला ४ हप्तामा इजरायली सेनाले गरेको गोली प्रहारबाट मानवीय सहायता सामग्री लिन भेला भएका कम्तिमा ५ सय ४९ जना प्यालेष्टिनी मारिएको जनाएको छ ।
गाजामा सहायता सामग्रीका लागि स्थापित विवादास्पद अमेरिकी संस्था गाजा ह्युम्यानिटेरियन फाउण्डेशन जीएचएफले सहायता सामग्री वितरण गर्न सुरू गरे यता यस्ता घटना हुन् थालेका हुन् ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले गाजामा सहायता सामग्री वितरणका लागि जीएचएफलाई ३ करोड डलर सहायता दिने प्रस्तावलाई स्वीकृत गरेको छ । यसका अतिरिक्त विदेश मन्त्रालयले जीएचएफलाई मासिक तीन करोड डलर सहायता प्रदान गर्ने निर्णय गर्न सक्ने स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ ।
विदेश मन्त्रालयले अन्य देशहरूलाई पनि उक्त संस्थालाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ । इजरायली सेनाको करिब दुई वर्ष लामो सैन्य कारवाहीबाट आक्रान्त गाजामा खाद्यान्न र अन्य आधारभूत सामग्रीको चरम अभाव रहँदै आएको छ ।
इजरायले गत मे १९ मा गाजामाथिको ११ साता लामो नाकाबन्दी फुकुवा गरे पनि सीमित मात्रामा मात्रै सहायता सामग्री आपूर्तिको अनुमति दिँदै आएको छ । २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा गाजामा मारिने प्यालेष्टिनीको संख्या ५६ हजार नाघेको छ ।
यसैबीच केही हिब्रु सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले २० महिना लामो गाजा युद्ध अन्त्य गर्न प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि दबाब बनाइरहेको जनाएका छन् ।
केही पत्रिकाले ट्रम्पले नेतन्याहुविरूद्धको भ्रष्टाचार मुद्दाको सुनुवाई रद्द गरिनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत गरेको मागको सम्बन्ध पनि यही प्रयाससँग जोडिएको दाबी गरेका छन् ।