भारतले चार दशकपछि अन्तरिक्षमा पठायो दोस्रो अन्तरिक्ष यात्री

ए-एक्स फोर नामको यान २८ घण्टाको यात्रापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने
असार ११, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतले चार दशकपछि अन्तरिक्षमा पठायो दोस्रो अन्तरिक्ष यात्री

काठमाडौं । भारतले चार दशकपछि आफ्नो देशको दोस्रो अन्तरिक्ष यात्रीलाई अन्तरिक्षतर्फ पठाएको छ ।

सन् १९८४ मा विंग कमाण्डर राकेश शर्माले सोभियत मिसनमा सहभागी भएर अन्तरिक्षको यात्रा गरेका थिए । शर्मा अन्तरिक्षको यात्रा गर्ने पहिलो भारतीय थिए भने शुभान्सु शुक्ला अन्तरिक्षको यात्रा गर्ने दोस्रो भारतीय नागरिक हुन् ।

समूह कप्तान ३९ वर्षीय शुभान्सु शुक्लासहित चार जना अन्तरिक्षयात्री स्पेस एक्स क्रु ड्रेगन ग्रेस अन्तरिक्ष यानबाट अन्तरिक्षतर्फ प्रस्थान गरेका हुन् । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट भारतीय समयअनुसार बुधबार दिउँसो १२ बजेर १ मिनेटमा उक्त अन्तरिक्ष यान बोकेको फाल्कन नाईन रकेट प्रक्षेपण गरिएको हो । 

एक्सिअम मिसन फोर वा ए-एक्स फोर नामको यो अन्तरिक्ष मिसन अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसका लागि पठाइएको एउटा नीजी तथा व्यवसायिक अन्तरिक्ष उडान हो । 

एक्सिअम स्पेस नामको अमेरिकी निजी अन्तरिक्ष कम्पनीले स्पेस एक्स र नासाका साथै भारतीय स्पेस एजेन्सी इसरो र यूरोपेली अन्तरिक्ष एजेन्सी इसासँगको साझेदारीमा यो मिसन पठाएको हो । शुक्लाका लागि आवश्यक तालिम र एएक्स फोर मिसनमा सीट सुरक्षित गराउन इसरोले पााँच अर्ब भारू तिरेको थियो ।

यो उडानमा शुक्लाका अतिरिक्त पोल्याण्डका स्लावोस्ज उज्नान्स्की, हंगेरीका टिबोर कापु र अमेरिकाकी पेगी ह्विट्सन गरी चार जना अन्तरिक्ष यात्री छन् । एएक्स फोर करिब २८ घण्टाको यात्रापछि भोलि दिउँसो करिब साढे चार बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएसमा जोडिन पुग्ने जनाइएको छ । 

१५ दिने मिसनअन्तर्गत ए-एक्स फोरका अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेर करिब ६० वटा वैज्ञानिक परीक्षण गर्नेछन् । आईएसएस पृथ्वीको परिक्रमा गरिरहेको बहुराष्ट्रिय अन्तरिक्ष प्रयोगशाला हो ।