रक्षा खर्च बढाउने नेटोको निर्णय, एक अर्कामाथि हुने आक्रमणको सामूहिक प्रतिरक्षा गर्ने प्रतिबद्धता

असार ११, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रक्षा खर्च बढाउने नेटोको निर्णय, एक अर्कामाथि हुने आक्रमणको सामूहिक प्रतिरक्षा गर्ने प्रतिबद्धता

काठमाडौं । नेटो सैन्य गठबन्धनमा आवद्ध देशका शीर्ष नेताहरूले रक्षा खर्चमा भारी वृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गर्नुका साथै एकअर्कामाथि हुने आक्रमणको सामूहिक प्रतिरक्षा गर्ने प्रतिबद्धतालाई दोहोर्‍याएका छन् ।

नेदरल्याण्ड्सको द हेगमा बसेको शिखर सम्मेलनमा सदस्य राष्ट्रले आ-आफनो वार्षिक रक्षा खर्चलाई बढाएर वर्ष २०३५ सम्ममा जीडीपीको ५ प्रतिशत पुर्‍याउने प्रस्तावलाई समर्थन गरेका हुन् । 

स्पेनले भने यसमा प्रतिबद्धता जनाएको छैन् । यसअघि २०१४ मा दुई प्रतिशतको लक्ष्य निर्धारित गरे पनि कतिपय राष्ट्रले अझै त्यो लक्ष्य प्राप्ति गरिसकेका छैनन् । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यूरोपले आफनो रक्षाका लागि निकै कम रकम खर्च गरिरहेको भन्दै त्यसमा बढोत्तरी गर्न दबाब दिँदै आउनुभएको पृष्ठभूमि र रूसले युक्रेनमाथि गरेको आक्रमणपछि उत्पन्न त्रासलाई सम्बोधन गर्न नेटोले रक्षा खर्चमा भारी वृद्धिको निर्णय गरेको हो ।

यसअघि नेटोका महासचिव मार्क रूटेले यूरोपेली देश र क्यानडाका लागि अतिरिक्त रकम जुटाउनु सहज नभए पनि रक्षा खर्च बढाउनु आवश्यक भएको बताउनुभएको थियो ।

रक्षा खर्च वृद्धिको नयाँ लक्ष्य प्राप्तिका लागि सदस्य राष्ट्रहरूले प्रतिवर्ष अर्बौं डलर रकम छुट्याउनुपर्नेछ । नयाँ लक्ष्यअनुसार सदस्य देशहरूले सेना र हतियारजस्ता प्रत्यक्ष रक्षा क्षेत्रमा वार्षिक साढे तीन प्रतिशत तथा साइबर सेक्युरिटी र गुप्तचरीजस्ता क्षेत्रमा डेढ प्रतिशत रकम खर्च गर्नुपर्नेछ ।

सोभियत विस्तारवादजस्ता खतराविरूद्ध सामूहिक प्रतिरक्षाको उद्देश्यका साथ सन् १९४९ मा नेटोको स्थापना भएको हो । नेटोमा हाल यूरोपका ३० र उत्तर अमेरिकाका दुई गरी ३२ सदस्य राष्ट्र छन् ।