इजरायल र इरानबीचको युद्धविराम कायम रहनेमा आशंका, आक्रमण नगर्न दुवै देशलाई ट्रम्पको चेतावनी

असार १०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल र इरानबीचको युद्धविराम कायम रहनेमा आशंका, आक्रमण नगर्न दुवै देशलाई ट्रम्पको चेतावनी

काठमाडौं । इजरायल र इरानबीच भएको भनिएको युद्धविराम कायमै रहनेमा आशंका उत्पन्न भएको छ । इजरायल र इरान दुवैले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएका छन् भने आक्रोशित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अपशब्द प्रयोग गर्दै दुवैको आलोचना गर्नुभएको छ । ट्रम्पले प्रयोग गरेको भाषाबाट उहाँको दिक्दार मनस्थिति प्रकट भएको बीबीसीका ह्वाइट हाउस संवाददाताले टिप्पणी गरेका छन् ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले तेहरानमाथि शक्तिशाली आक्रमण गर्न सेनालाई आदेश दिएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बम नखसाल्न चेतावनी दिनुभएको थियो । त्यसको १५ मिनेटपछि फेरि अर्को पोस्ट गर्दै ट्रम्पले इजरायलले इरानमाथि आक्रमण नगर्ने र युद्धविराम कायम रहेको उद्घोष गर्नुभएको थियो ।

यसैबीच ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोनमा वार्ता भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायल र इरानबीच युद्धविराम लागू भएको भनिएको दुई घण्टापछि नै इरानले उल्लंघन गरेको इजरायलको आरोप थियो । तर इरानले क्षेप्यास्त्र प्रहारको आरोप अस्वीकार गरेको छ । इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले स्थानीय समयअनुसार मंगलबार बिहान साढे ७ बजेपछि क्षेप्यास्त्र प्रहार नगरिएको दाबी गरेको सीएनएनले जनाएको छ । यद्यपि इजरायलले कुनै आक्रमण गरेमा प्रत्याक्रमण भने गरिने ती अधिकारीको चेतावनी छ ।

यसअघि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र कतारको मध्यस्थतामा इजरायल र इरान १२ दिनदेखि जारी युद्ध रोक्न सहमत भएका थिए । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले मंगलबार सबेरै इजरायल र इरानबीच युद्धविराम सहमति भएको र करिब ६ घण्टापछि कार्यान्वयन हुने आश्चर्यजनक घोषणा गर्नुभएको थियो । यसको केही समयपछि नै इजरायल र इरान दुवैले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका थिए ।

युद्धविराम हुनुअघिसम्म भने दुवैले आक्रमण जारी राखेका थिए । इरानले प्रहार गरेको क्षेप्यास्त्रबाट दक्षिणी इजरायली शहर बिरशेबामा ४ जना मारिएका थिए । उता इजरायलले उत्तरी इरानको एक आवासीय भवनमा गरेको आक्रमणमा एक जना परमाणु वैज्ञानिकसहित ९ जना मारिएका थिए । यस्तै अमेरिकाले शनिबार राति इरानका तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको बदलामा तेहरानले सोमबार राति कतार र इराकमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गरेको थियो । यसले स्थिति निकै तनावपूर्ण हुन सक्ने पूर्वानुमान गरिएकोमा मंगलबार बिहानै सबैलाई चकित पार्दै ट्रम्पले इजरायल र इरानबीच युद्धविरामको घोषणा गर्नुभएको थियो ।

यसैबीच इरानी सञ्चारमाध्यमले जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरे यता ६ सय ६ जना मारिएको र ५ हजारभन्दा बढी घाइते भएको जनाएको छ ।