एजेन्सी । इजरायल-इरान युद्ध र इजरायलको पक्षमा अमेरिकाको प्रत्यक्ष संलग्नताले मध्यपूर्व सन्त्रस्त बनिरहेका बेला पूर्वीयूरोप पनि रुस-युक्रेन युद्धले आक्रान्त रहेको छ ।
रुस र युक्रेनले एकअर्कामाथिको आक्रमणलाई निरन्तरता दिएका छन् भने गएराति किएभ क्षेत्रमा रुसले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट कम्तिमा ७ जना मारिएका छन् । उक्त आक्रमणमा अन्य थुप्रै मानिस घाइते भएको आन्तरिक मामिलामन्त्री इहोर क्लिमेन्कोले जानकारी दिनुभएको छ। सामाजिक संजालमा गरिएको पोष्टमा क्लिमेन्कोले आवासीय क्षेत्र, अस्पताल र खेल संरचनाहरुलाई लक्ष्य बनाइएको आरोप लगाउनु भएको छ । युक्रेनी हवाई सेनाले गएराति रुसले १६ वटा क्षेप्यास्त्र र ३सय ५२ वटा ड्रोन प्रहार गरेको जनाएको छ ।
राजधानी किएभका मेयरले मारिनेमा कम्तिमा छ जना एउटा बहुतले भवनका वासिन्दा भएको बताउनुभएको छ । यस्तै अन्य २२ जना घाइते भएको उहाँले बताउनु भएकोछ ।
पछिल्ला साताहरुमा रुसले युक्रेनका शहरहरुमा भिषण हवाई आक्रमण गर्दै आएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जारी द्वन्द्वबारे छलफल गर्न आज लण्डनतर्फ प्रस्थान गर्न लाग्नु भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।
गत महिना रुस र युक्रेनबीच दुई चरणमा प्रत्यक्ष शान्तिवार्ता भए पनि युद्धविराममा सहमति हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यी दुई देशबीच अस्थायी युद्धविराम गराउने पहल गरे पनि त्यो सफल हुन सकेको छैन । यसैबीचमा इजरायल-इरान संघर्ष शुरु भएको र अमेरिका पनि त्यसमा प्रत्यक्ष संलग्न हुन पुगेपछि ट्रम्पको प्राथमिकतामा परिवर्तन आएको विश्लेषण गरिएको छ ।