इजरायलको आक्रमणबाट ९ दिनभित्रै इरानमा ४ सयको मृत्यु, ३ हजारभन्दा बढी घाइते

असार ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलको आक्रमणबाट ९ दिनभित्रै इरानमा ४ सयको मृत्यु, ३ हजारभन्दा बढी घाइते

काठमाडौं । गत जुन १३ मा इजरायलले आक्रमण गरेयताका ९ दिनमा आफ्ना ४ सय नागरिक मारिएको इरानले जनाएको छ । इरानी स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै आक्रमणमा ५४ महिला र बालबालिकासहित ४ सय जना मारिएको जनाएको हो । 

यस्तै, यो अवधिमा ३ हजार ५६ जना घाइते भएको अल जजीराले जनाएको छ ।

इरानी स्वास्थ्यमन्त्री मोहम्मद रेजा जाफरघान्डीले इजरायलले ३ वटा अस्पतालमा आक्रमण गरेको र २ चिकित्सकको मृत्यु भएको बताउनुभयो । इजरायलले इरानको कुड्स फोर्सका कमान्डर मारिनुका साथै इस्फाहनस्थित आणविक अनुसन्धान केन्द्रमा आक्रमण गरिएको जनाएको छ । 

इस्लामिक रेभोल्युशनरी गार्ड अन्तर्गतको कुड्स फोर्स इरानबाहिरका कारबाहीमा संलग्न हुनुका साथै हेजबोल्लाह र हमाससँग समन्वयको जिम्मेवारीमा रहेको बताइन्छ ।

यसैबीच इरानले इजरायली आक्रमण जारी रहँदासम्म आफ्नो आणविक कार्यक्रमबारे कुनै वार्ता नगर्ने स्पष्ट पारेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानसँगको युद्ध दीर्घकालीन हुने चेतावनी दिएको केही घण्टापछि इरानको यो प्रतिक्रिया आएको हो । इजरायली विदेशमन्त्री अब्बास अराघचीले इजरायली आक्रमण रोकिए मात्रै कूटनीतिक वार्ताको विकल्प खोलिने बताउनुभएको हो । 

इरानको आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै इजरायलका आक्रमणहरू अन्तर्राष्ट्रिय कानुन विपरीत भएको उहाँको दाबी छ ।