काठमाडौं । इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराग्चीसँग जेनेभामा वार्ता गरिरहेका छन् ।
बैठकअघि बेलायती विदेशमन्त्री डेभिड ल्यामीले इजरायल-इरान द्वन्द्वको समाधान खोज्न आगामी दुई साताको अवधि महत्त्वपूर्ण रहेको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजरायलको पक्षमा अमेरिकाले इरानविरूद्ध प्रत्यक्ष कारबाही गर्ने वा नगर्ने भन्नेबारे दुई साताभित्रमा निर्णय गर्ने बताएको पृष्ठभूमिमा बेलायती विदेशमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।
इरानले आफ्ना परमाणु कार्यक्रम विशुद्ध सार्वजनिक उद्देश्यका लागि मात्र गर्नेछ भनी सहमत गराउन अमेरिकासँगको समन्वयमा वार्ता आयोजना गरिएको जर्मन स्रोतले बताएको छ ।
यता इजरायले आफ्नो लक्ष्य परमाणु हतियार विकास गर्ने इरानको क्षमता समाप्त पार्नु रहेको बताएको छ । इरानले भने आफ्नो परमाणु कार्यक्रम सैन्य प्रयोजनका लागि नभएको बताउँदै आएको छ । अमेरिकासहित युरोपेली देशहरू इरानले परमाणु हतियार विकास गर्न नसकोस् भन्नेमा एकमत छन् ।
उता इजरायल र इरानले आठौं दिन पनि हवाई आक्रमण जारी राखेका छन् । इजरायली सेनाले तेहरानस्थित क्षेप्यास्त्र उत्पादन केन्द्र लगायतमा आक्रमण गरेको जनाएको छ ।
यस्तै इरानले पनि दक्षिणी इजरायलको बेर्शेबा शहरस्थित प्राविधिक पार्कमा गरेको बलिस्टिक क्षेप्यास्त्र प्रहारका कारण कम्तीमा ७ जना घाइते भएको त्यहाँको आपत्कालीन सेवाले जनाएको छ ।
इजरायली आक्रमणबाट के कति क्षति भयो भन्नेबारे भने इरानले औपचारिक जानकारी दिएको छैन् ।