अमेरिकाद्वारा इरानको तीन आणविक केन्द्रमा आक्रमण

इरान-इजरायल युद्धमा अमेरिका प्रत्यक्ष संलग्न
असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाद्वारा इरानको तीन आणविक केन्द्रमा आक्रमण

काठमाडौं । इजरायल-इरान युद्धमा अन्तत: अमेरिका पनि प्रत्यक्ष रुपमा संलग्न भएको छ । अमेरिकाले इरानका मुख्य तीन आणविक केन्द्रमा आक्रमण गरेको छ ।

फोर्डो, नताञ्ज र इस्फहान आणविक केन्द्रमा बी-टू बमवर्षक विमानबाट आक्रमण गरेको अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पुष्टि गर्नुभएको हो । सामाजिक सञ्जाल ट्रुथ सोसलमा राष्ट्रपति ट्रम्पले इरानका तीन आणविक केन्द्रमा सफल आक्रमण गरी अमेरिकी बमवर्षक विमान आफ्नो बेस फर्किइरहेको उल्लेख गर्नुभएको छ ।

ट्रम्पले दुईदिनअघि मात्रै इरान युद्धमा प्रत्यक्ष रुपमा संलग्न हुने-नहुने निर्णय लिन दुई साता प्रतीक्षा गर्ने बताउनुभएको थियो । दुई सातामा इरानसँग परमाणु वार्ता हुनसक्ने ट्रम्पले विश्वास व्यक्त गर्नुभएको थियो ।

यसअघि, अमेरिकाले गुआमस्थित सैन्य बेसमा गहिरो भूमिगत बंकरहरूमा आक्रमण गर्न सक्ने क्षमता राख्ने बी- टू बमवर्षकहरू तैनाथ गरेको थियो ।

यसैबीच, मध्यपूर्वमा तनाव थप चुलिँदै गएको छ । इजरायल र इरानले एक-अर्काविरुद्ध रातभर क्षेप्यास्त्र आक्रमण गरेका छन् । इजरायली सेनाले तीनजना उच्च इरानी सैन्य अधिकारी मारिएको दाबी गरेको छ । जसमा अक्टोबर ७ मा भएको हमासको आक्रमणको योजनाकार मानिएका सइद इजादीसमेत रहेको दाबी इजरायलको छ । इरानी अधिकारीहरूका अनुसार इजरायलको आक्रमणमा हालसम्म ४ सयभन्दा बढीको मृत्यु भएको छ भने तीन हजारभन्दा धेरै घाइते भएका छन् । अर्कोतर्फ, इरानी क्षेप्यास्त्र आक्रमणबाट इजरायलमा २५ जनाको मृत्यु भएको । २५ सयभन्दा बढी घाइते भएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले हिजो मात्रै अमेरिका पनि यस युद्धमा संलग्न भए अत्यन्तै खतरनाक हुने बताउनुभएको थियो । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको तर्क गर्दै आएको छ भने यस आक्रमणसँगै पश्चिमी राष्ट्रहरूको कूटनीतिक प्रयासहरू विफल भएका छन् । फ्रान्स, बेलायत र जर्मनीले पछिल्ला दिनमा युद्ध अन्त्यका लागि पहल गरिरहेका थिए । एजेन्सीको सहयोगमा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.