घानामा नष्ट गरियाे तीन टन कोकिन, इतिहासकै सबैभन्दा ठूलो मात्रामा लागूऔषध बरामद

असार ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
घानामा नष्ट गरियाे तीन टन कोकिन, इतिहासकै सबैभन्दा ठूलो मात्रामा लागूऔषध बरामद

काठमाडौं । घानाका अधिकारीहरूले देशको इतिहासमै सबैभन्दा ठूलो लागूऔषध बरामदगीमा ३.३ टन कोकिन नष्ट गरेका छन् । जसको मूल्य ३५० मिलियन डलरभन्दा बढी रहेको छ।

यो लागूऔषध मार्च महिनामा घानाको मध्य भाग केप कोस्टमा राष्ट्रिय गुप्तचर ब्युरो र लागूऔषध नियन्त्रण आयोग बीचको संयुक्त अपरेसनका क्रममा बरामद गरिएको थियो। ती लागूऔषधहरू पश्चिमी क्षेत्रबाट अक्रा तर्फ जाँदै गरेको एउटा टिपर ट्रकमा बालुवाको तल लुकाएर राखिएको अवस्थामा भेटिएको थियो।

पश्चिम अफ्रिका लामो समयदेखि दक्षिण अमेरिकाबाट युरोपतर्फ जान तयार गरिएका लागूऔषधहरूको ट्रान्जिट बिन्दु मानिँदै आएको छ । जहाँ ठूलो मात्रामा लागूऔषध बरामद हुनु सामान्य कुरा हो। तर, यो अपरेसन घानामा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा लागूऔषध बरामद भएकाले विशेष मानिएको छ।

लागूऔषध नियन्त्रण आयोग का उपमहानिर्देशक अलेक्जेन्डर ट्वुल-बरिमा अनुसार बरामद कोकिनको शुद्धता ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म थियो। ती लागूऔषधहरूलाई कडा सुरक्षा व्यवस्थाबीच नष्ट गरिएको हो । जसमा थोरै मात्रामा हिरोइन र मेथाम्फेटामिन जस्ता अन्य लागूऔषधहरू पनि समावेश थिए।