विश्व शरणार्थी दिवस: जबर्जस्ती विस्थापितको संख्या १२ करोड नाघ्यो, ४ करोड ९० लाख बालबालिका प्रभावित

असार ६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
विश्व शरणार्थी दिवस: जबर्जस्ती विस्थापितको संख्या १२ करोड नाघ्यो, ४ करोड ९० लाख बालबालिका प्रभावित

काठमाडौं । आज विश्व शरणार्थी दिवस । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २०२४ को अन्त्यसम्ममा विश्वभर जबर्जस्ती विस्थापित गरिएका मानिसको संख्या १२ करोड ३२ लाख रहेको छ ।

यो संख्यालाई आन्तरिकरूपमा विस्थापित, शरणार्थी, आश्रयका लागि आवेदन दिएका र अन्तर्राष्ट्रिय संरक्षण आवश्यक भएका व्यक्ति गरी चार भागमा वर्गीकरण गरिन्छ । जसमध्ये आन्तरिक विस्थापितको संख्या ७ करोड ३५ लाख रहेको छ भने शरणार्थीको संख्या ३ करोड ६८ लाख रहेको छ ।

भेनेजुएला, सिरिया, अफगानिस्तान, युक्रेन र दक्षिण सुडान शरणार्थी संख्या अत्यधिक रहेका देश हुन् । यस्तै शरणार्थीलाई आश्रय दिने मुख्य देशमा इरान, तुर्किए, कोलम्बिया, जर्मनी र युगाण्डा रहेका छन् ।

यसैगरी शरणका लागि आवेदन दिएका व्यक्तिको संख्या ८४ लाख रहेको छ भने अन्तर्राष्ट्रिय संरक्षण आवश्यक व्यक्ति ५९ लाख रहेका छन् । नागरिकताविहीनको संख्या ४४ लाख भएको र उनीहरू १ सय १ वटा देशमा छरिएर रहेको जनाइएको छ । नागरिकता नभएका कारण उनीहरू आधारभूत सेवा पाउन समेत वञ्चित छन् ।

यस्तै केही शरणार्थी स्वदेश फिर्ता समेत भएका छन् भने केहीलाई तेस्रो मुलुकमा पुनःस्थापना गरिएको छ । सन् २०२३ मा मात्रै १६ लाखभन्दा बढी शरणार्थी स्वदेश फर्किएका थिए भने करीब १ लाख ९० हजार तेस्रो मुलुकमा पुनःस्थापित भएका थिए ।

विस्थापितमध्ये सबैभन्दा बढी प्रभावित बालबालिका भएको पाइएको छ । १२ करोड ३२ लाख जबर्जस्ती विस्थापितमध्ये करिब ४० प्रतिशत अर्थात् ४ करोड ९० लाख व्यक्ति १८ वर्षमुनिका बालबालिका हुन् ।

यस्तै विगत ७ वर्षमा मात्रै २३ लाख बालबालिकाको जन्म शरणार्थीका रूपमा भएको पाइएको छ । सन् २०१८ देखि २०२४ को अवधिमा बर्सेनि औसत ३ लाख ३७ हजार ८ सय शिशुको शरणार्थीका रूपमा जन्म भएको छ ।

धर्म, जाति, सामाजिक समूह र राजनीतिक आस्थाका आधारमा हुने उत्पीडन, लैंगिक विभेद, युद्ध, हिंसा, द्वन्द्व, मानवअधिकार उल्लंघन, आर्थिक संकट, भोक, खाद्य असुरक्षा, जलवायु परिवर्तन र प्राकृतिक विपत्ति आदि जबर्जस्ती विस्थापनमा पार्ने र शरणार्थी बनाउने मुख्य कारक मानिन्छ ।