काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आगामी दुई साताभित्र इरान र इजरायलबीचको चर्कंदो द्वन्द्वमा सिधा हस्तक्षेप गर्ने वा नगर्नेबारे अमेरिकाले निर्णय गर्ने बताउनुभएको छ ।
अहिले पनि 'वार्ताको पर्याप्त सम्भावना' रहेको ट्रम्पको विश्वास छ । यसैबीच इरानका उप-विदेशमन्त्रीले बीबीसीसँगको अन्तर्वार्तामा यो अमेरिकाको युद्ध नभएको प्रष्ट पार्दै यसमा संलग्न नहुन अमेरिकालाई चेतावनी दिनुभएको छ ।
इरानले इजरायललाई सहयोग गर्ने देशहरूका सम्पत्तिहरूलाई निशाना बनाउने चेतावनीसमेत दिएको छ। एक इजरायली प्रवक्ताले तेहरानले पश्चिमी देशहरूको हरेक चाललाई नजिकबाट हेरिरहेको बताएको बीबीसीले जनाएको छ।
बिहीबार इरानबाट प्रक्षेपण गरिएका मिसाइल र ड्रोन आक्रमणहरूमा इजरायलभर २ सय ७० भन्दा बढी व्यक्ति घाइते भएका छन् । जवाफस्वरूप, इजरायली सेनाले इरानको आणविक पूर्वाधारमा ठूलो स्तरको हवाई आक्रमण सञ्चालन गरेको छ ।
जसमा अराक हेभी वाटर रिएक्टर र मिसाइल विकास केन्द्रहरू समावेश छन्। तेहरानस्थित इरानको आन्तरिक सुरक्षा मुख्यालयमा पनि इजरायली आक्रमण भएको पुष्टि गरिएको छ।
इजरायली सेनाकाअनुसार, उक्त मुख्यालयमा इरानको विशेष बलको कमान्ड सञ्चालन भइरहेको थियो। बिहीबार राति, तेहरानको उत्तरी क्षेत्रमा विस्फोटहरू सुनिएको थियो र इरानी वायु रक्षा प्रणालीले जवाफी कारबाही गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
पश्चिमी अधिकारीहरूकाअनुसार, इजरायलको अभियान केवल इरानको आणविक र मिसाइल क्षमतामाथि प्रहार गर्न सीमित छैन्। यो अभियान सर्वोच्च नेता आयातोल्ला खामेनीको शासनलाई अस्थिर पार्न र शासन पतनको नजिक पुर्याउन पनि लक्षित गरिएको बताएका छन् ।
यसबीच, इरानको सरकारी टेलिभिजन केही समयका लागि ह्याक भएको थियो। त्यसअवधिको प्रसारणमा सरकारविरूद्धका प्रदर्शनहरू देखाइएको र जनतालाई विद्रोहका लागि आह्वान गरिएको बताइएको छ ।