जर्मनी, फ्रान्स र बेलायतका विदेशमन्त्रीले इरानी समकक्षीसँग जेनेभामा परमाणु वार्ता गर्ने

असार ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
जर्मनी, फ्रान्स र बेलायतका विदेशमन्त्रीले इरानी समकक्षीसँग जेनेभामा परमाणु वार्ता गर्ने

काठमाडौं । इरान र इजरायलबीच जारी द्वन्द्वका बीच जर्मनी, फ्रान्स र बेलायतका विदेशमन्त्रीले इरानी समकक्षीसँग भोलि जेनेभामा परमाणु वार्ता गर्ने तयारी गरेका छन् ।

जर्मन कूटनीतिक स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएअनुसार इरानी विदेशमन्त्री अब्बास अरागचीसँग संयुक्त बैठक गर्नुअघि ती विदेशमन्त्रीहरूले जेनेभास्थित जर्मनीको स्थायी नियोगमा युरोपेली संघका उच्च कूटनीतिज्ञ काजा कालाससँग भेट्ने छन् ।

इजरायल-इरान द्वन्द्वले विस्तारित युद्धको रूप लिने भयका बीच युरोपेली नेताहरूले समस्या समाधानको पहल सुरु गरेको बताइएको छ । यसैबीच इरानी विदेशमन्त्री अरागचीले आफू जेनेभामा हुने बैठकमा सहभागी हुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यता अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानविरुद्धको आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न हुने नहुनेबारे स्पष्ट नबताउँदा वर्तमान संकट थप गहिरिने चिन्ता बढेको छ । ट्रम्पले इरानमाथिको आक्रमण योजनालाई अनुमोदन गरिसके पनि त्यसबारे अन्तिम निर्णय लिइनसकेको बीबीसीले जनाएको छ ।

जर्मन स्रोतका अनुसार अमेरिकासँगको समन्वयमा हुन लागेको जेनेभा वार्ता इरानलाई आफ्ना परमाणु कार्यक्रम विशुद्ध सार्वजनिक उद्देश्यका लागि मात्र प्रयोग गर्ने गरी सहमत गराउन आयोजना गरिएको हो । विदेशमन्त्रीस्तरीय वार्ता सकारात्मक भएमा विज्ञस्तरमा अर्को वार्ता गरिने बताइएको छ ।

इजरायले परमाणु हतियार विकास गर्ने इरानको क्षमतालाई समाप्त गर्न आक्रमण गरेको बताइरहँदा इरानले भने आफ्ना परमाणु कार्यक्रम सैन्य प्रयोजनका लागि नभएको भन्दै प्रतिकार गर्दै आएको छ ।

इजरायलले इरानमाथि गत शुक्रबारबाट आक्रमण सुरु गरेपछि आइतबार हुने भनिएको अमेरिका-इरान परमाणु वार्ता रद्द भएको थियो ।

अमेरिका र केही युरोपेली मुलुकहरू इरानले परमाणु हतियार विकास नगरोस् भन्ने कुरामा एक मत छन् । केही दिनअघि सम्पन्न ‘जी सेभेन’को शिखर सम्मेलनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको भन्दै ऊप्रति समर्थन जनाउनुका साथै इरानलाई मध्यपूर्वमा अशान्तिको तथा आतंकको स्रोत भएको आरोप लगाएको थियो ।