तेहरानको आकाश आफ्नो पूर्ण नियन्त्रणमा रहेको इजरायली सेनाले दाबी

असार २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
तेहरानको आकाश आफ्नो पूर्ण नियन्त्रणमा रहेको इजरायली सेनाले दाबी

काठमाडौं । इजरायल र इरानले एक अर्कामाथिको भीषण आक्रमणलाई चौथो दिन पनि जारी राखेका छन् । सोमबार इजरायलले देशको पश्चिमी भागमा गरेको ताजा आक्रमणमा स्थानीय अस्पतालमा क्षति पुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

यता इजरायली सेनाले इरानको राजधानी तेहरानमाथिको आकाश आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गरेको छ । रातभर पनि दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका थिए । इजरायलको अभेद्य मानिने आइरन डोम रक्षा प्रणालीलाई चिर्दै इरानले गए राति इजरायलको तेल अभिभ र तटीय शहर हाइफामा गरेको आक्रमणमा कम्तीमा ८ जना मारिएका छन् । शुक्रबार यता इरानी आक्रमणमा मारिने इजरायलीको संख्या २४ पुगेको छ ।

उता इजरायलले गए राति इरानमा गरेको आक्रमणमा इरानी सेनाको विशेष शाखा इस्लामिक रेभोल्युसनरी गार्ड कोरका गुप्तचर प्रमुखसहित चार जना गुप्तचर अधिकारी मारिएका छन् । शुक्रबार यता इजरायली आक्रमणमा २२४ जना मारिएको इरानले जनाएको छ ।

इरानी आक्रमणका कारण तेल अभिभस्थित अमेरिकी दूतावासको शाखा भवनको केही भागमा सामान्य क्षति पुगेको जनाइएको छ ।

यसैबीच स्रोतलाई उल्लेख गर्दै अमेरिकी तथा अन्तर्राष्ट्रिय समाचारमाध्यमले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीलाई मार्ने इजरायली योजनालाई अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले स्वीकृति नदिएको समाचार सार्वजनिक गरेपछि यसले तरंग उत्पन्न गरेको छ । रोयटर्स, सीएनए, सीबीएस न्युजले स्रोतलाई उल्लेख गर्दै यो समाचार दिएका हुन् । इजरायली प्रधानमन्त्री नेतन्याहूले भने त्यस्तो कुनै योजनाको खण्डन गर्नुभएको सीएनएनले जनाएको छ । 

इजरायलले इरानमाथि आक्रमण गरे यता ट्रम्प र नेतन्याहूबीच कुराकानी भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएको छ । उता शुक्रबार इजरायलले आक्रमण गरे लगत्तै इरानका सर्वोच्च नेता खमेनीलाई उत्तरपूर्वी इरानको बंकरमा सुरक्षित सारिएको इरान इन्टरनेशनलले जनाएकोछ । खमेनीसँगै उहाँका छोरा मोजतबा अन्य पारिवारिक सदस्य पनि बंकरमा बस्दै आएको समाचारमा जनाइएको छ ।

इजरायल-इरान द्वन्द्व बढ्दै जाँदा विभिन्न देशले इजरायलबाट आफ्ना नागरिकको उद्धार गर्दैछन् । पोल्यान्डले आगामी एक वा दुई दिनमा इजरायलबाट आफ्ना करिब २ सय नागरिक फिर्ता लैजाने तयारी गरेको जनाएको छ । भारतले इरानमा रहेका आफ्ना करीब १५ सय विद्यार्थीलाई राजधानी तेहरानबाट करीब १४८ किलोमिटर पर रहेको कोम शहरमा सार्ने तयारी गरिरहेको भारतीय समाचारमाध्यमले जनाएका छन् ।