तनहुँको शुक्लागण्डकीमा रैथाने खानाको प्रवर्द्धन गर्न खाना महोत्सव

परिकारको बजारीकरण हुने अपेक्षा
चैत्र ३, २०८२ |प्रताप राना
तनहुँको शुक्लागण्डकीमा रैथाने खानाको प्रवर्द्धन गर्न खाना महोत्सव

तनहुँ । रैथाने बाली तथा खाद्यवस्तुको संरक्षण र परिकारहरूको बजारीकरण गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकीमा रैथाने खानाका परिकार बनाइ बिक्री वितरण गरिएको छ । 

यस्ता परिकार बिक्री वितरण गर्न शुक्लागण्डकीका आदिवासी जनजाति समुदायले खाना महोत्सव आयोजना गरेका हुन् । शुक्लागण्डकी नगरपालिकासँग सहकार्य गरेर शुक्लागण्डकीका आदिवासी जनजाति समुदायले आयोजना गरेको महोत्सवमा तरूल, गिठालगायतका जंगली कन्दमूलसँगै स्थानीयस्तरमा उत्पादन हुने कालो सुँगुर, खोलाका माछा, सिप्लीगानका मुनालगायतका वस्तुका परिकार बनाएर बिक्री वितरणसँगै यिनको बजारीकरणकोसमेत प्रयास भएको छ ।

मगर, गुरूङ्ग, नेवार, भुजेल, कुमाल, थकालीलगायतका जाति समूहले आ-आफ्नो समुदायले पितापुर्खादेखि उपभोग गर्दै आएका मौलिक तथा रैथाने परिकार महोत्सवमा राखेपछि यसले राम्रो मूल्यसमेत पाएको छ । बजारमा पाइने तयारी खाना र खानाको स्वादमा रमाउन बानी परेको युवा पुस्तासमेत रैथाने खाद्यवस्तु र तिनबाट बन्ने खानाका परिकारप्रति जिज्ञासु देखिएका छन् ।

रैथाने खाना महोत्सवले आदिवासी जनजाति समुदायका खाद्यवस्तु र तिनबाट बन्ने परिकारबारेको जानकारी आदानप्रदान गर्ने अवसर मात्र जुराएको छैन बरू रैथाने बाली उत्पादनमा समेत प्रोत्साहन मिलेको छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।