सोमबारको हावाहुरीले कोशीका पहाडी जिल्लामा भौतिक सम्पत्तिमा ठूलो क्षति

बिजुली र इन्टरनेट सेवा आंशिक सुरू
चैत्र ३, २०८२ |विनोद घिमिरे
सोमबारको हावाहुरीले कोशीका पहाडी जिल्लामा भौतिक सम्पत्तिमा ठूलो क्षति

धनकुटा । धनकुटामा सोमबार राति आएको हावाहुरीसहितको वर्षाले भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। 

राति करिब ८ बजेदेखि सुरू भएको हावाहुरीका कारण ठाउँ-ठाउँमा रूख ढल्दा जिल्लाभर अवरूद्ध बनेको बिजुली र इन्टरनेट सेवा म‌ंगलबार अपरान्हदेखि आंशिकरूपमा सुरू भएको छ। रूखहरू ढलेर अवरूद्ध बनेको कोशी राजमार्गको धनकुटा-हिले खण्ड मर्मतसम्भारपछि सञ्चालनमा आएको छ।

सोमबार साँझको हावाहुरीका कारण धनकुटामा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको छ। धनकुटाको बालमन्दिर, हुलाकटोल, बीचबजार, सिरान बजार, हटिया र भीमनारायण चोकलगायत क्षेत्रमा ढुंगा-माटो र टिनका छाना भएका घरहरूमा क्षति पुगेको छ।

लोकसेवा आयोगको धनकुटा कार्यालय, जिल्ला आयुर्वेद अस्पताल, डिभिजन वन कार्यालय, नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, कोशी प्रदेश सङ्ग्रहालय तथा धनकुटा बहुमुखी क्याम्पसको पुस्तकालय क्षतिग्रस्त बनेका छन्। यस्तै निजामती आवासीय विद्यालय, रेशम खेती विकास कार्यालयका भवनमा क्षति पुगेको छ। 

हावाहुरीका कारण भएको क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ। त्यस्तै सदरमुकामस्थित सल्लेरी राष्ट्रिय वनमा एक सयभन्दा धेरै सल्लाका रूख ढलेका छन्। जसका कारण कोशी राजमार्ग १५ घन्टासम्म अवरूद्ध बन्यो।

क्षतिको विवरण संकलनमा स्थानीय तह र सुरक्षा निकायसँग पनि समन्वय भइरहेको छ। खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राखिएको र प्रारम्भिक तथ्यांक संकलनपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुन:स्थापनाको काम सुरू गरिने धनकुटा प्रशासनले जनाएको छ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।