काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच इजरायल र इरानबीचको युद्ध अन्त्यबारे छलफल भएको छ ।
ट्रम्पको ७९औँ जन्मदिनको शुभकामना दिन पुटिनले टेलिफोन गर्नुभएको हो । अमेरिकी सेनाको २ सय ५०औँ वार्षिकोत्सवको परेडमा सहभागी हुनुअघि ट्रम्प र पुटिनबीच कुराकानी भएको थियो । करिब एक घण्टाको कुराकानीमा मुख्य रूपमा इजरायल र इरानबीच बढ्दो तनावमा केन्द्रित रहेको बताइएको छ ।
पुटिन इरान मामिलामा जानकार भएको र उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गरेको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ । रूस-युक्रेन युद्धबारे पनि छोटो छलफल भएको ट्रम्पले उल्लेख गर्नुभएको छ । उक्त विषयमा अर्को हप्ता छलफल हुने बताइएको छ ।
रूस र युक्रेनले योजनाअनुसार कैदीबन्दीको साटासाट गरिरहेको जानकारी पुटिनले गराएको बताइएको छ । पुटिनले ट्रम्पलाई इरानी तथा इजरायली नेतासँग हालै भएको आफ्नो वार्ताबारे जानकारी गराउनुभएको थियो ।
ट्रम्पले दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेयता पुटिन र ट्रम्पबीच पाँच पटक फोन वार्ता भएको छ ।