काठमाडौं । इजरायलले इरानलक्षित आक्रमण जारी राख्ने जनाएको छ । इजरायल डिफेन्स फोर्सका प्रमुख इयाल जमीर र हवाई सेना प्रमुख तोमेर बारले तेहरानमा पुनः आक्रमणको तयारी भइरहेको बताएका हुन् ।
योजना अनुसार नै तेहरानका थप निशानामा लडाकू जेटले आक्रमण गरिने उनीहरूले बताएका छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानले आक्रमण जारी राखे महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । इरानको नेतृत्वले इरानी जनतालाई बन्धक बनाएको आरोप उहाँले लगाउनुभएको छ ।
उता, इजरायलले तेहरानस्थित एउटा आवासीय भवनमा गरेको आक्रमणमा २० बालबालिकासहित ६० जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इरानी टेलिभिजनले १४ तले भवनका अवशेषबाट बालबालिकाका शव निकालिरहेको दृश्य प्रसारण गरेको छ । राष्ट्रसंघका लागि इरानी राजदूत अमीर सइद इराभानीले शुक्रबार बिहान इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको बताउनुभएको थियो ।
इजरायलले शुक्रबार बिहानै इरानको आणविक केन्द्र तथा वरिष्ठ सैन्य अधिकारीहरूलाई लक्षित गर्दै आक्रमण गरेको जवाफमा इरानले पनि आज बिहानै इजरायलमा सयौं मिसाइल र ड्रोनले आक्रमण गरेको थियो । इरानको आक्रमणमा इजरायलमा ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
इजरायली हमलापछि इरानभरका सबै विमानस्थल अनिश्चितकालसम्मका लागि बन्द गरिएको इरानी समाचार समिति आईआरएनएले जनाएको छ । यस्तै, फोर्डो आणविक केन्द्रमा केही क्षति भएको अधिकारीहरूले जनाएका छन् । इरानले आगामी दिनमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामा पनि आक्रमण गरिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।