काठमाडौं । इजरायल र इरानबीचको तनाव अहिले युद्धको मोडमा पुगेको छ । बितेको २४ घण्टामा भएका आक्रमण र प्रतिआक्रमणले समग्र मध्यपूर्व क्षेत्रलाई अनिश्चिततातर्फ धकेलेको छ ।
इरानले करिब १०० ड्रोन प्रहार गरेको इजरायली सेनाले पुष्टि गरेको छ । तीमध्ये धेरैजसो ड्रोन इजरायली हवाई सुरक्षा प्रणालीद्वारा रोकिएको बताइएको छ ।
जवाफमा इजरायलले इरानका आणविक पूर्वाधार, ब्यालिस्टिक मिसाइल उत्पादन केन्द्र र महत्त्वपूर्ण सैन्य तथा रणनीतिक संरचनाहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
आक्रमणमा इरानी क्रान्तिकारी गार्डका प्रमुखसहित वरिष्ठ अधिकारीहरू मारिएको दाबी गरिएको छ ।
उता, इरानले ६ जना वैज्ञानिकको ज्यान गएको र केही सर्वसाधारण, विशेषगरी बालबालिका पनि मारिएको जनाएको छ । यद्यपि, यी विवरणहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।
इरानका राष्ट्रपतिले इजरायलको कदमलाई ‘मुर्खता’ भनेका छन् र कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।
यसैबीच इजरायलले विश्वभरिका आफ्ना दूतावासहरू बन्द गरेको छ । विदेशमा रहेका इजरायली नागरिकहरूलाई राष्ट्रिय चिह्नहरू नदेखाउन र आफ्नो स्थिति विदेश मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेको छ । यस्तै कन्सुलर सेवाहरू पनि बन्द छन् ।
यता संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाले इजरायली आक्रमणसँग सम्बन्धित आपत्कालीन बैठक बोलाउने तयारी गरिरहेको छ ।