काठमाडौं । अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीमाथिको धरपकडको विरोधमा सात दिनदेखि जारी विरोध प्रदर्शनले विस्तारै देशव्यापी रूप लिँदै गएको छ।
न्यूयोर्क, सियाटल, शिकागो, अस्टिन, लास भेगास र राजधानी वासिंगटन डीसीलगायतका शहरमा पनि विरोध प्रदर्शन भएको सीएनएनले जनाएको छ । वासिंगटन राज्यको स्पोक्यान शहरमा प्रदर्शनकारीले सडक अवरूद्ध गरेपछि त्यहाँका मेयरले आपतकालको घोषणा गर्नुका साथै कर्फ्यू आदेश जारी गर्नुभएको छ ।
उता डाउन टाउन लस एन्जलसमा बुधबार दोस्रो रात पनि कर्फ्यू जारी छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि एलएका मेयर करेन बासले मंगलबारदेखि लागू हुने गरी राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि रात्रीकालीन कर्फ्यू लगाउनु भएको थियो ।
शहरको स्यानो क्षेत्र मात्रै लगाइएको रात्रिकालीन कर्फ्यू केही दिनसम्म जारी रहने जनाइएको छ । लस एन्जलसमा आप्रवासन नियन्त्रणसम्बन्धि निकाय आइसको धरपकड विरूद्ध प्रदर्शन सुरू भएपछि राष्ट्रपति डनल्ड ट्रम्पले त्यहाँ ४ हजार नेसनल गार्ड र ७ सय नौसैनिक खटाउने निर्णय गरिसक्नु भएको छ ।
ती सात सय नौसैनिकले आफ्नो तालिम पुरा गरिसकेको र आगामी ४८ घण्टाभित्र प्रभावित क्षेत्रमा परिचालन गरिने अमेरिकी सेनाको नदर्न कमाण्डले जनाएको छ । आफ्नो भूमिभित्रै सेना परिचालन गर्ने ट्रम्पको यो निर्णयले अस्थिरता थप बढने आशंका गरिएको छ ।
आफ्नो सहमति बेगर राज्यमा नेशनल गार्ड परिचालन गरेको भन्दै क्यालिफोर्नियाका गभर्नरले त्यसविरूद्ध मुद्दासमेत दर्ता गरिसक्नु भएको छ ।
यसैबीच आगामी शनिबार देशभर ट्रम्प विरोधी नो किंग्स र्याली आयोजनाको तयारी गरिएको छ । आफ्नो स्थापनाको २५०औं जन्मोत्सवका अवसरमा सोही दिन सेनाले भव्य सैन्य परेड गर्दैछ भने राष्ट्रपति ट्रम्पले सो कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । संयोगवश सोही दिन ट्रम्पको ७९औं जन्मदिन समेत रहेको छ ।