
काठमाडौँ । नेपालमा रहेका खेलाडीको काम गर्ने अनुमति र श्रम स्वीकृतिको विषयबारे अध्यागमन विभागले अनुसन्धान थालेपछि एन्फाले आयोजना गरिहेको पुरुष राष्ट्रिय लिग र सहिद स्मारक महिला लिग स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज दुई सूचना जारी गरेर प्रतियोगिता स्थगनको जानकारी दिएको हो।
नेपालमा कुनै प्रतियोगिता आयोजना गर्दा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिनुपर्ने हुन्छ। एन्फाले पनि पूर्वतयारीका लागि परिषद्बाट राष्ट्रिय लिग आयोजना गर्न स्वीकृति लिएको थियो। तर अहिलेसम्म पनि पूरा कागजात पेस गर्न सकेको छैन। परिषद्मा नै कागजात पेस गर्न नसकेपछि एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई बिहीबार दिउँसो परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई आफ्नो मुद्दा मिलाइदिन अनुरोध गर्दै परिषद् पुगेका थिए।
अध्यागमन विभागका अनुसार जावलाखेल युथ क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज, सातदोबाटो युथ, संकटा र भगवती क्लबमा भित्रिएका विदेशी खेलाडीले कार्यसहमति र श्रम स्वीकृति नलिएको भेटिएपछि छानबिन र अनुगमन थालिएको हो। नेपालमा लामो समयदेखि नै प्रतियोगितामा खेलाडीको श्रम स्वीकृति नलिई खेलाउने चलन रहँदै आएको छ। कानुनलाई बेवास्ता गरेर खेलाएका कारण फुटबलको अहिलेको अवस्था आएको मेहताको भनाइ छ। उनले कानुनको कार्यान्वयनमा अघि बढिसकेको र पछि नहट्ने पनि बताएका छन्।
यस विषयमा भने एन्फाले अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार प्राविधिक कारणले गर्दा दुवै प्रतियोगिता स्थगित गरिएको हो। तर एन्फा स्रोतका अनुसार अध्यागमनले पठाएको पत्र र कारण प्रतियोगिता सार्नु परेको जानकारी कान्तिपुरले प्राप्त गरेको छ। अब लिग पुन सुरु हुनेबारे पनि अन्योल पैदा भएको छ।
यता एन्फाले अहिले आफ्नो निर्वाचनका विषयमा परिषद्लाई जानकारी दिँदै पत्र पठाएको छ। परिषद् एन्फाको पनि नियामक निकाय रहेको कारण, उसले आफ्नो स्वीकृति विना निर्वाचन गरे मान्य नहुने भन्दै निर्वाचन रोक्न निर्देशनात्मक पत्र पठाएको छ।