
काठमाडौँ । नेपाल पुलिस क्लबले, जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । राशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि पुलिस त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो संस्करण च्याम्पियन बनेको हो ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आर्मीले १ सय ७८ रन, नौ विकेटको स्थितिबाट दिनको सुरुआत गरेको थियो । आज आर्मीले थप ४८ रन जोड्यो । आकाश चन्द र घाइते अवस्थामा ब्याटिङ गरेका सोमपाल कामीले दशौं विकेटमा कुल ४९ रन जोडे । सागर ढकालले आकाशलाई आउट गरी यो साझेदारी तोडेका थिए । सागरले १६.२ ओभरमा २ मेडन राख्दै ४३ रन खर्चेर ४ विकेट लिए । करण केसी र ललित राजवंशीले ३-३ विकेट लिए ।
पुलिसले २ सय २७ रनको लक्ष्य चिया सत्रपछि पूरा गर्यो । पुलिसले ५७ ओभर भित्र ६ विकेट गुमाएर २ सय ३० रन बनाएको हो । अमित श्रेष्ठ शून्य र दिनेश खरेल २५ रनमा आउट भएपछि राशिद र कुशलले तेस्रो विकेटमा ठोस साझेदारी गरे । कुशलले ५१ र राशिदले ८१ रन बनाए । कुशलले ६४ बल खेली ५ चौका र रशिदले १ सय २८ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान आरिफ शेख २१ बल मा समान १ चौका र छक्का प्रहार गर्दै १४ र गुलशन झा १ रनमा आउट भए । आर्मीका पवन कार्कीले २ र शाहव आलमले १ विकेट लिए । पहिलो इनिङ्समा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो । करणले अविजित ७२ रन बनाएपछि पुलिसको पहिलो इनिङ्सको स्कोर पनि २ सय २१ रनमै रोकिएको थियो ।
गत वर्ष वीरगञ्जमा पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशी प्लेयर अफ द सिरिज भए । स्पिनर ललित लगातार दोस्रो सिजन जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । ललितले लिग चरणमा २० सहित कुल २६ विकेट लिए । उत्कृष्ट बलरको अवार्ड पनि ललितको नाममा रह्यो ।
ललितले फाइनलमा आर्मीविरुद्ध ६ विकेट लिएपछि पुलिसले बिनादबाब उपाधि जितेको हो । अब आगामी चैत ८ गते बाट सुरु हुने प्रधानमन्त्री कपमा पनि यही लयलाई निरन्तरता दिने प्रयासमा रहने ललितले बताएका छन् ।
यस्तै बागमती प्रदेशका इशान पान्डे उत्कृष्ट ब्याटर बने । उनले ३ सय ३१ रन जोडेका थिए ।