
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई आज बुझाएको प्रतिवेदनमा आयोगले सरकार ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार लिएकोमा ५ अर्ब ३७ करोड खर्च भएको जनाएको हो ।
आयोगले आज पत्रकार सम्मेलन गरेर निर्वाचन खर्चलाई मितव्ययी बनाउने उद्देश्यले सरकारले उपलब्ध गराएको रकम सबै खर्च नभएको जनाएको हो । सुरुमा आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड ५ लाख माग गरेकोमा अर्थ मन्त्रालयले घटाएर निकासा गरेको थियो ।
प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका २ हजार ८ सय ८७ उम्मेदवारबाट झन्डै ३ करोड धरौटी रकम जफत भएको छ । आयोगले सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको २ करोड ८८ लाख ७० हजार धरौटी रकम जफत भएको जनाएको हो ।
धरौटी जफत हुँदा महिला, दलित, अल्पसंख्यक र आर्थिकरूपमा विपन्नलाई ५० प्रतिशत छुट हुनेछ । त्यसैगरी समानुपातिकतर्फ राजनीतिक दलले कम्तीमा १ सिट प्राप्त नगरे धरौटी रकम जफत हुने व्यवस्था बमोजिम बन्द सूची पेस गर्ने ५७ मध्ये ५१ दलको धरौटी रकम जफत भएको छ । बन्दसूची बुझाएका प्रत्येक दलले ५० हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । जम्मा ६ वटा दल मात्रै राष्ट्रिय दल बनेका छन् ।
५ सय १८ जना र ६ वटा दलले ३ महिनाभित्र धरौटी फिर्ताको निवेदन दिनुपर्छ । नभए सरकारी कोषमै जानेछ । त्यस्तै जनजाति समूहतर्फ २१.०९, खस आर्य ४९.०९, थारू ३.२७, दलित ६.१८, मधेशी १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत निर्वाचित भएको आयोगले जनाएको छ ।