काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा २ सय ४२ जना सवार रहेको विमान दुर्घटना भएको छ ।
अहमदाबादबाट लन्डन जान लागेको एयर इन्डियाको उडान नम्बर एआई वन सेभेन वनको विमानमा २३० जना यात्रु, दुई जना पाइलट र १० जना चालक दलका सदस्य गरी २४२ जना सवार रहेको एएनआईले जनाएको छ ।
विमानमा १६९ जना भारतीय, ५३ ब्रिटिश, ७ जना पोर्चुगिज र एक जना क्यानडेली नागरिक रहेको बीबीसीले जनाएको छ ।
सरदार बल्लभ भाई पटेल विमानस्थलबाट उडेलगत्तै बोइङ सेभेन एट सेभेन ड्यास एट ड्रीमलाइनर विमान दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त विमानमा आगो लागेको र धुँवाको मुस्लो निस्किरहेको जनाइएको छ । एयर इन्डियाले विमान दुर्घटना भएको पुष्टि गरेको छ ।
अग्नि नियन्त्रकहरु दुर्घटनास्थल पुगेर आगो निभाउने काममा खटिइसकेका छन् । घटनास्थलमा कम्तिमा दुई दर्जन एम्बुलेन्स घटनास्थल पुगेको र केही घाइतेलाई अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा सो विमानले टेक अफ गरेको र त्यसको दुई मिनेटमै अर्थात् एक बजेर ४० मिनेटमा मेघानी नगर नजिकै दुर्घटना भएको हो ।
गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरी घटनाबारे जानकारी लिनुका साथै उद्धार तथा राहत कार्यमा केन्द्र सरकारको पूर्ण सहयोग रहने बताउनु भएको छ ।