
काठमाडौं । स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएकाे जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ- नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको हप्तामा दुई दिन सार्वजनिक बिदाको नीति अनुरूप आइतबारका पूर्व-निर्धारित शल्यक्रिया (ओटी) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझैँ २४ सै घन्टा सुचारू रहने जानकारी गराइन्छ ।
बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।
सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाहरूको विवरण वेबसाइट तथा सूचनापाटीमार्फत प्रवाह गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालयको अस्पताल सुधार कार्यविधि, २०८२ को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन सर्भे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्दछौं ।
