आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान-यूएई र टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

वैशाख ४, २०८३ |सुवास रोकाया
आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान-यूएई र टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र यूएईविरुद्धको त्रिकोणात्मक सिरिज र त्यसअघि खेलिने यूएईविरुद्धको २ खेलको टी-२० आई सिरिजका लागि दुई फरक टोली घोषणा गरेको छ ।

शुक्रबार सावर्जनिक गरिएको टोली अनुसार टी-२० आई सिरिजको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । दीपेन्द्र यसअघि राष्ट्रिय टिमको उपकप्तान थिए । लिग २ सिरिजमा भने नेपालको नेतृत्व नियमित कप्तान रोहित पौडेलले गर्नेछन् ।

टी- २० विश्वकप खेल्ने टोलीमा नरहेका कुशल मल्ल, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी र साहब आलम १५ सदस्य टी-२० आई टोलीमा अटाएका छन् भने विश्वकप टोलीबाट तत्कालीन कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, ललित राजवंशी र आसिफ शेख यूएईविरुद्धको टी-२० आई सिरिजमा सहभागी हुने छैनन् । 

यद्यपि यी खेलाडीहरु लिग टू सिरिज खेल्ने टिममा भने अटाएका छन् । एकदिवसीय टिममा युवा ब्याटर अर्जुन कुमालले पहिलो पटक स्थान बनाएका छन् । प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङ गरेपछि अर्जुनले राष्ट्रिय टिममा स्थान बनाएका हुन् । यस्तै विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् । 

पीएम कपमा उत्कृष्ट ब्याटिङ गरेपछि विनोद तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । बसिर अहमदले पनि एकदिवसीय टिममा पुनरागमन गरेका छन् । ओडीआई टिममा रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसीले स्थान बनाएका छन् । 

यसअघि यूएईमा सम्पन्न लिग २ सिरिजमा सहभागी अनिल साह, कुशल मल्ल र साहब आलमले यसपटक ओडीआई टिममा स्थान बनाउन सकेनन् । लिग २ का लागि हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाललाई रिजर्व राखिएको छ ।

नेपाल र यूएईबीच वैशाख ६ र ७ गते दुई खेलको टी-२० सिरिज हुनेछ । नेपालमा पहिलो पटक फ्लडलाइटमा अन्तार्राष्टिय सिरिज हुन लागेको हो । त्यसपछि लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज वैशाख १२ देखि २२ सम्म तथा नेपाल, स्कटल्यान्ड र अमेरिकामा अर्को सिरिज वैशाख २९ देखि जेठ ८ सम्म आयोजना हुने छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।