
हेटौंडा । कोइला अभावमा हेटौंडा सिमेन्ट उद्योग बिहीबार बिहानदेखि बन्द भएको छ ।
बक्यौता रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि उद्योग पुनः बन्द भएको हो । यसअघि पनि पटक पटक बन्द हुने र खुल्ने हुँदै आएको उद्योगमा पछिल्लोपटक चैत १३ गतेदेखि क्लिङ्कर उत्पादन थालिएको थियो ।
हाल उद्योग सञ्चालनका लागि तीन हजार मेट्रिक टन कोइला किन्न बोलपत्र आह्वान भइसकेको छ । यद्यपि भारतबाट आइपुग्न केही समय लाग्ने भएको छ । कोइलाको आपूर्ति भई परीक्षण भएपछि मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले बताउनुभयो ।
गत भदौमा पनि पाँच दिन मात्र सञ्चालन भएको उद्योगले दुई हजार पाँच सय टन क्लिङ्कर र ३० हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगमा हाल ३ सय १८ जनशक्ति कार्यरत छन् । उद्योग बन्द भए पनि कर्मचारीको तलब, भत्ता तथा अन्य खर्चका कारण आर्थिक भार भने चुलिँदो छ ।
यसबाहेक नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने महसुल बक्यौता ४० करोड रूपैयाँ पुगिसकेको छ । बक्यौताकै कारण प्राधिकरणसँग नियमित विद्युत् आपूर्तिका लागि आग्रह गर्न सक्ने अवस्थासमेत नरहेको उद्योग प्रशासनको भनाइ छ ।