चीनसँग व्यापार सम्झौतामा सहमति भएको ट्रम्पको घोषणा

अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ५५ प्रतिशत र चीनले १० प्रतिशत कर लगाउने सहमति
जेष्ठ २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
चीनसँग व्यापार सम्झौतामा सहमति भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्नुभएको छ । दुवै देशका उच्च अधिकारीबीच लन्डनमा सम्पन्न दुई दिने वार्तापछि सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङले अनुमोदन गरेपछि सो सम्झौताले अन्तिम रूप लिने भन्दै ट्रम्पले सम्झौताअन्तर्गत चीनले अमेरिकालाई दुर्लभ खनिज तथा चुम्बकको निर्बाध आपूर्ति गर्ने बताउनुभएको छ । 

बदलामा अमेरिकाले चिनियाँ विद्यार्थीलाई अमेरिकी कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न अनुमति दिने ट्रम्पको भनाई छ । यसैगरी अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ५५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १० प्रतिशत आयात कर लगाउने सहमति भएको ट्रम्पको भनाई छ ।

यसअघि लन्डन वार्तामा संलग्न अधिकारीहरूले दुई देशबीच जारी व्यापार तनाव कम गर्ने सम्बन्धी सम्झौताको प्रारूपमा सैद्धान्तिक सहमति जुटेको र दुवै राष्ट्रपतिले अनुमोदन गरेपछि यसले अन्तिम रुप लिने बताएका थिए ।

गत अप्रिलमा अमेरिकाले चीनबाट आयात हुने वस्तुमा एक सय ४५ प्रतिशत र जवाफमा चीनले १ सय २५ प्रतिशत आयात कर लगाएपछि दुवै देशबीच व्यापार युद्ध चर्किएर गएको थियो ।

अघिल्लो महिना दुवै पक्षबिच जेनेभामा भएको वार्तामा एक अर्कामाथि लगाइएका उच्च आयात करको व्यवस्था ९० दिनकालागि स्थगित गर्ने र वार्ता जारी राख्ने सहमति भएको थियो । 

उक्त अवधिभरका लागि अमेरिका र चीनले एकअर्कामाथिको आयात करलाई एकसय १५ प्रतिशतले कम गर्दै क्रमश ३० र १० प्रतिशतमा झारेका थिए । यद्यपि दुवै देशले एक अर्कामाथि उक्त सहमतिको उल्लंघन गरेको आरोप लगाएका थिए ।

अमेरिकाले चीनमाथि स्मार्ट फोनदेखि लिएर विद्युतिय वाहन निर्माणकालागि अत्यावश्यक दुर्लभ खनिज र चुम्बकको निर्यात सुस्त गरेको आरोप लगाएको थियो भने चीनले कृत्रिम बौदि्कता एआएसँग सम्बन्धित सेमिकण्डक्टरसम्म बेइजिंगको पहुँचमा रोक लगाएको आरोप लगाएको थियो । गतसाता ट्रम्प र सीबीच भएको लामो टेलिफोन वार्तापछि दुवै देशबीच लण्डनमा ताजा वार्ता भएको हो ।