काठमाडौं । आफ्ना पूर्वमित्र तथा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग गत साता भएको चर्को शब्द युद्धपछि व्यवसायी इलोन मस्क आज निकै मत्थर र सम्बन्ध पुनर्स्थापनाको मुडमा देखिनुभएको छ ।
बुधबार आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै मस्कले राष्ट्रपति ट्रम्पका बारेमा गत साता आफूले गरेका केही पोष्टका बारेमा पश्चाताप व्यक्त गर्नुभएको हो । साथै उहाँले ती पोष्टहरूमा आफू सीमाभन्दा निकै पर गएको समेत स्वीकार गर्नुभएको छ ।
सरकारी कार्यदक्षता विभाग डोजको प्रमुख पदबाट हटेको केही दिनमै मस्कले ट्रम्प प्रशासनले अघि सारेको कर कटौती र खर्चसम्बन्धी विधेयकको सामाजिक सञ्जालमा घृणित भन्दै आलोचना गरेपछि दुवैबीचको विवाद सतहमा आएको थियो ।
ट्रम्पले मस्कका गतिविधिबाट आफू निकै निराश भएको सार्वजनिक प्रतिक्रिया दिनुभएको थियो । मस्कले आफू नभएको भए ट्रम्पले निर्वाचन नै हार्ने कृतघ्नताको आरोप लगाएपछि दुवैबीचको शब्दयुद्ध सामाजिक सञ्जालमा छरपस्ट भएको थियो ।
ट्रम्पले डोजबाट हटाएपछि र विद्युतीय सवारीमा दिइएको छुट कटौती खारेज गरेपछि मस्क विक्षिप्त भएको आरोप लगाउनुभएको थियो । उता मस्कले पनि ट्रम्पमाथि महाभियोग लगाउनुपर्छ भन्ने एक जना एक्स प्रयोगकर्ताको पोष्टप्रति समर्थन जनाउनुभएको थियो ।
आक्रोशित ट्रम्पले मस्कको कम्पनीहरूलाई प्राप्त ठेक्का रद्द गर्नेसम्मको धम्की दिनुभएको थियो। मस्कले दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य फाइलहरूमा ट्रम्पको नामसमेत रहेको आरोप लगाउनुभएको थियो ।
तर शनिबार ट्रम्पले सम्बन्ध समाप्त भएको घोषणा गरेयता मस्क नरम देखिनुभएको हो । त्यसयता मस्कले महाभियोग लगाइनुपर्छ भन्नेजस्ता ट्रम्पप्रति गम्भीर टिप्पणी भएका केही ट्वीटहरू डिलिट गरिसक्नुभएको छ ।
मस्कको रीस शान्त हुँदै गएको र उहाँ ट्रम्पसँगको आफ्नो सम्बन्ध सुधार्न चाहिरहेको हुनसक्ने निकटस्थ स्रोतलाई उल्लेख गर्दै रोयटर्सले टिप्पणी गरेको छ ।