प्रतिनिधि सभाको बैठक आज दिउँसोका लागि तय

छानबिन समिति गठनको प्रतिवद्धतामा अगाडि बढ्ने वा समयसीमा नै तोक्ने भन्नेमा विपक्षी दलहरुमा अझै कुरा मिलेन
जेष्ठ ३०, २०८२
प्रतिनिधि सभाको बैठक आज दिउँसोका लागि तय

काठमाडौं । विपक्षी दलहरुको विरोधका कारण लामो समयदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आजका लागि तय गरिएको छ ।भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र एमाले लचक भएपनि छानबिन समिति गठनको प्रतिवद्धतामा अगाडि बढ्ने वा समयसीमा नै तोक्ने भन्नेमा विपक्षी दलहरु एकठाउँमा आइसकेका छैनन् । जसका कारण आजको बैठक बस्ने नबस्ने अन्यौल कायमै छ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे तय भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पठाउने कार्यसूची छ। त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची छ। 

उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।