चीन र अमेरिकाबीच जारी व्यापार युद्ध अन्त्य गर्ने सम्झौताको प्रारूपमा सहमति

अनुमोदनका लागि आ-आफ्ना राष्ट्रपति ट्रम्प र सी समक्ष पेस गरिने
जेष्ठ २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
चीन र अमेरिकाबीच जारी व्यापार युद्ध अन्त्य गर्ने सम्झौताको प्रारूपमा सहमति

काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनले आफूहरूबीच जारी व्यापार तनाव कम गर्नेसम्बन्धि सम्झौताको प्रारूपमा सैद्धान्तिक सहमति जुटेको बताएका छन् । 

दुवै पक्षले अब सम्झौता अनुमोदनका लागि आ-आफ्ना राष्ट्रपतिहरू डनल्ड ट्रम्प र सी चिनफिङ समक्ष प्रस्तुत गर्ने बताएका छन् । दुवै पक्षका उच्चअधिकारीबीच लन्डनमा दुई दिनसम्म चलेको सघन वार्तामा उक्त सहमति जुटेको हो । 

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले उक्त सम्झौताबाट चीनले दुर्लभ खनिज र चुम्बक निर्यातमा लगाएको प्रतिबन्ध हटने विश्वास व्यक्त गर्नुभयो । 

वार्तामा पारस्परिक व्यापारका अन्य विषयका साथै आधुनिक प्रविधिका लागि अत्यन्त महत्वपूर्ण मानिएको दुर्लभ खनिज आपूर्ति खुला गर्नेसम्बन्धि विषय मुख्य एजेण्डका रूपमा रहेको थियो ।

गत महिना दुवै पक्षबीच जेनेभामा भएको वार्तामा एक अर्कामाथि लगाइएका उच्च आयात करको व्यवस्था ९० दिनका लागि स्थगित गर्ने र वार्ता जारी राख्ने सहमति भएको थियो । यद्यपि, दुवै देशले एक अर्कामाथि उक्त सहमतिको उल्लंघन गरेको आरोप लगाएका थिए ।

अमेरिकाले चीनमाथि स्मार्ट फोनदेखि लिएर विद्युतीय वाहन निर्माणका लागि अत्यावश्यक दुर्लभ खनिज र चुम्बकको निर्यात सुस्त गरेको आरोप लगाएको थियो भने चीनले कृत्रिम बौदि्कता-एआएसँग सम्बन्धित सेमिकण्डक्टरसम्म बेइजिंगको पहुँचमा रोक लगाएको आरोप लगाएको थियो ।

गतसाता ट्रम्प र सीबीच भएको लामो टेलिफोन वार्तापछि दुवै देशबीच लन्डनमा वार्ता भएको हो । वार्तापछि चिनियाँ उपवाणिज्यमन्त्री लि चेंगगांगले जुन ५ मा दुवै राष्ट्रबीच भएको टेलिफोन संवादमा भएको सहमति र जेनेभा बैठकमा भएका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा दुवै पक्षबीच एउटा खाकामा सैद्धान्तिक सहमति भएको बताउनुभयो ।

अस्वस्थ व्यापार गरेको आरोप लगाउँदै ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १ सय ४५ प्रतिशतसम्मको आयात कर लगाएपछि चीनले पनि प्रतिकारमा १ सय २५ प्रतिशतसम्मको आयात कर लगाएको थियो । 

विवाद चर्किएपछि गत महिना जेनेभामा भएको वार्तामा दुवै पक्ष ९० दिनका लागि अस्थायी कर युद्धविराम गर्न सहमत भएका थिए । सहमतिअनुसार अमेरिकाले चिनियाँ सामानमाथिको आयात कर ३० प्रतिशत र चीनले १० प्रतिशतमा झारेको थियो ।