भारतको अहमदाबादमा विमान दुर्घटना : २०४ शव फेला, बस्तीमा विमान खस्दा स्थानीय पनि परेको आशंका

जेष्ठ २९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको अहमदाबादमा विमान दुर्घटना : २०४ शव फेला, बस्तीमा विमान खस्दा स्थानीय पनि परेको आशंका

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा २ सय ४२ जना सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटना भएको छ ।

दुर्घटनास्थलबाट अहिलेसम्म २०४ शव फेला परेको र विमानमा सवार कोही पनि जीवित नरहेको आशंका गरिएको स्थानीय प्रहरी प्रमुख जीएस मलिकले बताउनुभएको छ । 

विमान आवासीय क्षेत्रमा खसेकाले केही स्थानीयको समेत मृत्यु भएको हुन सक्ने मलिकले बताउनुभएको छ । तर विमानमा सवार एक जनाको जिवितै उद्दार गरिएको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमान बीजे मेडिकल कलेजको होस्टेल भवनको माथिल्लो तलामा ठोक्किएको थियो । मेडिकल कलेजमा डाक्टरी पढिरहेका थुप्रै विद्यार्थी पनि सो दुर्घटनामा घाइते भएका छन् । कम्तीमा ५० जना घाइते विद्यार्थीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अहमदाबादबाट लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई वन सेभेन वनको उक्त बोइङ विमानमा २३० यात्रु, दुई पाइलट र १० चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए । यात्रुहरूमध्ये २१७ जना वयस्क, ११ बालबालिका र २ जना शिशु रहेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

विमानमा १६९ जना भारतीय, ५३ ब्रिटिस, ७ जना पोर्चुर्गिज र एक जना क्यानडाली यात्रु सवार रहेको बीबीसीले जनाएको छ । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी समेत सवार हुनुहुन्थ्यो ।

अहमदाबादको सरदार बल्लभ भाई पटेल विमानस्थलबाट उडेको केही क्षणमै बोइङ सेभेन एट सेभेन ड्यास एट ड्रिमलाइनर विमान दुर्घटनामा परेको हो । टेकअफ गरेको केही क्षणमै विमानबाट आपत्‌कालीन संकेत प्राप्त भएको र त्यसलगत्तै विमानसँग सम्पर्कविच्छेद भएको भारतीय नागरिक उड्डयन निकायले जनाएको छ ।

स्थानीय समयअनुसार दिउँसो १ बजेर ३९ मिनेटमा सो विमान उडेको र त्यसको केही सेकेन्डमै ६ सय २५ फिटको उचाइमा विमानको संकेत हराएको उडानसम्बन्धि तथ्यांक राख्ने वेबसाइट फ्लाइटरेडार ट्वेन्टी फोरले जनाएको छ ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो भने धुवाँको ठूलो मुस्लो निस्किएको थियो । त्यसको केही समयमै अग्नि नियन्त्रक, उद्धारकर्ता र एम्बुलेन्सहरू घटनास्थल पुगेका थिए । स्थानीय व्यक्तिहरूले पनि उद्धारकार्यमा सहयोग गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध र दुःखी भएको भन्दै शोक व्यक्त गर्नुभएको छ । यस्तै बेलायतका राजा चार्ल्सले पनि आफू र रानी क्यामिला दुवै उक्त डरलाग्दो दुर्घटनाबाट अत्यधिक स्तब्ध भएको बताउनुभएको छ । यस्तै क्यानडा र पोर्चुगलका प्रधानमन्त्रीहरूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।