काठमाडौं । अमेरिकामा क्यालिफोर्निया राज्यको लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापामारीको विरोधमा सुरु भएको विरोध प्रदर्शन तेस्रो दिन पनि जारी छ ।विरोध प्रदर्शन मूलतः लस एन्जलसको डाउन टाउन क्षेत्रमा केन्द्रित छ ।
प्रहरीले यहाँ भेला वा प्रदर्शन गर्न निषेध गरेको छ । राष्ट्रपति डनल्ड ट्रम्पले लस एन्जलसमा जारी प्रदर्शन रोक्न २ हजार नेशनल गार्ड परिचालन गर्ने आदेश दिएपछि अहिले यहाँ ३ सय नेशनल गार्ड प्रदर्शन नियन्त्रण गर्न खटिएका छन् ।
प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी तथा अन्य सर्वसाधारणका सवारी साधनमा समेत आगजनी गरेका छन् । केही पसलमा लुटपाट गरिएको गुनासो आएको लस एन्जलस प्रहरीले जनाएको छ । आइतबारको प्रदर्शनका क्रममा कम्तीमा १० जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको र शुक्रबार यता गिरफ्तार गरिएका प्रदर्शनकारीको संख्या करिब ६० पुगेका छन् ।
प्रदर्शनकारीलाई धपाउन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।
प्रहरीले चलाएको गैरघातक गोली लागेर एक जना बेलायती फोटोग्राफर र एक जना अस्ट्रेलियन पत्रकार घाइते भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।
क्यालिफोर्नियाका डेमोक्र्याट गर्भनर ग्याभिन न्यूसमले आफ्नो सहमतिबिना नेशनल गार्डलाई खटाएर ट्रम्पले संकट निम्त्याएको आरोप लगाउनुभएको छ । ट्रम्पको सो कार्य अवैधानिक र अनैतिक भएको भन्दै न्यूसमले यसविरुद्ध मुद्दा चलाउने धम्की समेत दिनुभएको छ । नेशनल गार्ड राज्यस्थित जगेडा स्थल तथा नौसैनिक बल हो भने यो संघीय र राज्य सरकारको दोहोरो नियन्त्रणमा हुन्छ ।
सामान्यतया प्राकृतिक विपत्तिको बेलामा नेशनल गार्ड परिचालित गरिन्छ । राज्यस्तरमा नेसनल गार्ड परिचालन गर्ने अधिकार गभर्नरसँग हुन्छ । तर राष्ट्रपति ट्रम्पले गभर्नरको अधिकारमाथि हस्तक्षेप गर्दै राष्ट्रिय सुरक्षाको हवाला दिँदै लस एन्जलसमा यसलाई परिचालित गर्नुभएको हो ।
अवैध आप्रवासीविरुद्ध कडा कारबाही गर्ने ट्रम्पको नीति विरुद्ध यो स्तरको प्रदर्शन भएको यो पहिलो हो । अवैध आप्रवासन नियन्त्रणसम्बन्धी निकाय आईसीईले शुक्रबार बिहान छापा हानेर अवैध आप्रवासीलाई नियन्त्रणमा लिएपछि त्यहाँ विरोध प्रदर्शन शुरु भएको हो । क्यालिफोर्निया मेक्सिकोसँग सीमा जोडिएको राज्य हो ।