रोनाल्डोको प्रेरणा अनि एकताबद्ध टिम, यस्तो रह्यो पोर्चुगलको जितको कथा

जेष्ठ २६, २०८२ |विनयज्योति सापकोटा
रोनाल्डोको प्रेरणा अनि एकताबद्ध टिम, यस्तो रह्यो पोर्चुगलको जितको कथा

काठमाडौं । युएफा नेसन्स लिगको च्याम्पियन बनेर पोर्चुगलले नौ वर्षको अन्तरालमा तेस्रो अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यी सबै उपाधिका नायक रहे फरवार्ड क्रिस्टियानो रोनाल्डो । 

दुई दशकसम्म विश्व फुटबलको शिखरमा रहेका रोनाल्डोको अनुभवी टिमले गए राति जर्मनीको एलियान्ज एरिनामा युवा खेलाडीले भरिएको स्पेनसँग प्रतिस्पर्धा गरेको थियो, जहाँ उनको अनुभव र टिमको एकताले पोर्चुगलका लागि अर्को स्वर्णकथा लेखेको छ ।

पोर्चुगलले ६ वर्षपछि फेरि युएफा नेसन्स लिगको उपाधिमाथि कब्जा जमाएको छ, यो उपाधि दिलाएको थियो ३९ वर्षीय स्टार क्रिस्टियानो रोनाल्डो नेतृत्वको टिमले । रोनाल्डोले फेरि एक पटक आफू युरोपको उपाधि जित्न सक्षम छु भन्ने प्रमाणित गरेका छन् । 

स्पेनिस जायन्ट रियल मड्रिड छाडेपछि उनले ट्रफी जित्न संघर्ष गर्नु परिरहेको छ । युभेन्टसलाई च्याम्पियन्स लिग जिताउने विश्वास गरिए पनि त्यो सफल भएन । त्यसपछि म्यानचेस्टर युनाइटेडको माध्यमबाट प्रिमियर लिगमा फर्किएका उनले त्यहाँ पनि खास प्रदर्शन गर्न सकेका थिएनन् ।

साउदी क्लब अल नासरमा दुई सिजन बिताएका रोनाल्डो पछिल्ला दुई वर्ष विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीका रूपमा थिए । तर उपाधि कमाउन नसकेको भन्दै पछिल्लो समय नासरका समर्थकले नै आलोचना गरे । हुन पनि, उनले नासरलाई क्षेत्रीय प्रतियोगिताबाहेक महत्त्वपूर्ण उपाधि जिताउन सकेनन् । यस्तोमा उनका लागि ठूलो परीक्षा थियो- नेसन्स लिग ।

नेसन्स लिग एमा, समूह-१ मा रहेको पोर्चुगल समूह चरणमा अपराजित रह्यो । चार जित र दुई बराबरीका साथ पोर्चुगल शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो । क्रोएसिया र स्कटल्यान्डसँग एक-एक खेल बराबरी गरेको भए पनि पोर्चुगलले बाँकी सबै खेलमा जित हात पारेर विजयी यात्राको सुरुआत गर्‍यो । फिफा विन्डोको समयमा एक वर्षभन्दा लामो समय सञ्चालन हुने नेसन्स लिग अन्तर्गत क्वार्टरफाइनलमा पोर्चुगलको सामना डेनमार्कसँग थियो, गत मार्चमा ऊ डेनमार्कलाई दुई लेगमा ६-२ ले हराएर सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनल खेल जर्मनीको एलियान्ज एरिनामा आयोजना हुने तय थियो । र, पोर्चुगलको भेट आयोजक जर्मनीसँग हुने भयो । यी दुईबीचको खेलमा घरेलु मैदानमा जर्मनी जितका लागि फेवरेट थियो । यद्यपि, रोनाल्डो र प्रोन्सिस्को कोन्सेसाओले गोल गरेपछि जर्मनी घरेलु मैदानमा उल्लेख्य समर्थकमाझ स्तब्ध भयो ।

नेसन्स लिगको फाइनलमा पोर्चुगलले पाएको प्रतिद्वन्दी स्पेन हो । एक वर्षअघि मात्रै युरो कप जितेर युरोपेली फुटबलमा रवाफ देखाइरहेको स्पेनको टोलीमा ट्यालेन्टको कुनै कमी थिएन, उसलाई फाइनलमा २-२ को बराबरीमा रोकेर पोर्चुगलले खेललाई पेनाल्टीमा पुर्‍याएको थियो । 

अल्भारो मोराटाको पेनाल्टी पोर्चुगिज गोलकिपर डिएगो कोस्टाले बचाएपछि पोर्चुगल च्याम्पियन बनेको हो । यो उपाधि जिताएर गोलकिपर डियागो कोस्टाले आफूमाथि लाग्दै आएको कमजोर गोलकिपरको आलोचनाको जवाफ मात्रै दिएनन्, पोर्चुगलका लागि वीरताको अर्को कथा समेत लेखे ।

“धेरै कठिन खेल भयो । स्पेन विश्वकै एक बलियो टिम हो । उनीहरूले राम्रो प्रदर्शन गरेर हामीलाई अप्ठ्यारो बनाएका थिए । तर हामी राम्रो टिम थियौं । एकताबद्ध भए हामीलाई कसैले हराउन सक्दैन”, पोर्चुगिज खेलाडी ब्रुनो फर्नान्डेजले भने ।

पोर्चुगलले यसअघि सन् २०१९ मा भएको पहिलो संस्करणको नेसन्स लिग जितेको थियो । रोनाल्डोको करिअरको यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि हो । उनको कप्तानीमा पोर्चुगल २०१६ को युरो कप विजेता बनेको थियो । 

विश्व फुटबलमा रोनाल्डोको नामैले धेरै कुरा भन्छन् । सपना, संघर्ष, उपाधि र जितको शृंखलाबद्ध यात्रामा उनी सबैभन्दा सफल छन् । 'म गर्न सक्छु र पोर्चुगलले जित्न सक्छ' भन्ने सांकेतिक प्रदर्शन उनको हाउभाउमा देखिन्थ्यो ।

- एजेन्सीको साहयोगमा


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।