युद्धग्रस्त गाजाका लागि राहात बोकेको पानीजहाजमा इजरायली सैनिक प्रवेश

जेष्ठ २६, २०८२
युद्धग्रस्त गाजाका लागि राहात बोकेको पानीजहाजमा इजरायली सैनिक प्रवेश

एजेन्सी ।  इजरायलले गाजातर्फ राहत सामाग्री लिएर जाँदै गरेको माडलीन नामको पानीजहाजलाई रोक्ने प्रयास थालेको छ ।

समुद्री नाकाबन्दीको उल्लघंन गर्न लागेको भन्दै कारबाही गर्ने चेतावनी इजरायलले दिएको हो । अहिले उक्त जहाज गाजाबाट करिब एक सय ६० माइल टाढा रहेको बताइएको छ । जहाजमा जलवायु अभियन्ता ग्रेटा थुनबर्गसँगै मानव अधिकारकर्मी र शान्तिकर्मीहरु सवार छन् ।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले गाजाको समुद्री नाकाबन्दी तोड्न खोज्ने कुनै पनि प्रयास नसहने चेतावनी दिनुभएको छ ।

माडलीनमा सवार अभियानकर्मीहरूले भने जहाज निशस्त्र रहेको र मानवीय सहायता मात्र बोकेको बताएका छन् । इजरायलको अवरोध अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको उनीहरुको आरोप छ । इजरायलले जहाजको सञ्चार अवरोध गरेर जोर्डन नजिकै देखिने बनाएको आरोप पनि उनीहरुले लगाएका छन् ।

यसैबीच, इजरायली अधिकारीहरू उक्त पानीजहाजमा प्रवेश गरिसकेको बीबीसीले जनाएको छ ।

यसअघि, सन् २०१० मा गाजातर्फ जाँदै गरेको टर्कीको मावी मरमारा नामक पानीजहाजमा इजरायली सेनाले आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो ।