आप्रवासी प्रकरणकै कारण अमेरिकाको लस एन्जलस तनावग्रस्त

प्रदर्शन र झडपका कारण उत्पन्न परिस्थितिलाई नियन्त्रणमा नेसनल गार्ड परिचालन गर्ने ट्रम्पकाे निर्णय
जेष्ठ २५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
आप्रवासी प्रकरणकै कारण अमेरिकाको लस एन्जलस तनावग्रस्त

काठमाडौं । आप्रवासी प्रकरणकै कारण अमेरिकाको लस एन्जलस तनावग्रस्त बनेको छ । राष्ट्रपति डनल्ड ट्रम्पले आप्रवासीको प्रदर्शन र झडपका कारण उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गर्नुभएको छ ।

स्थानीय अधिकारी र संघीय कानुनी निकायमाथि हिंसात्मक भीडले आक्रमण गरिरहेको भन्दै ट्रम्पले नेशनल गार्ड तैनाथ गर्ने आदेश जारी गरेको ह्वाइट हाउसले जनाएको छ । 

लस एन्जलसलाई सुरक्षित बनाउन पर्याप्त संख्यामा नेसनल गार्ड परिचालन गरिएको राष्ट्रपतिको सीमा सुरक्षा प्रमुख टम होमनले बताउनुभयो । क्यालिफोर्नियाको लस एन्जलस सहर शनिबार पनि अशान्त बनेको थियो । 

लेटिनो समुदाय बहुल प्यारामाउन्ट क्षेत्रमा आप्रवासन तथा सीमा अधिकारी र स्थानीयबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी प्रयोग गरेको थियो । आईसीइले एक सय १८ जनालाई पक्राउ गरेको छ । गभर्नर ग्याविन न्यूसमले भने उक्त कारबाहीलाई निर्दयी भन्दै कडा शब्दमा आलोचना गर्नुभएको छ ।

प्यारामाउन्ट क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप अझै जारी छ । प्यारामाउन्टमा ८० प्रतिशतभन्दा बढी हिस्प्यानिक मूलका मानिसको बसोबास छ ।