काठमाडौं । भारतको मणिपुर राज्यमा पुन: तनाव बढेको छ । तनाव बढेपछि प्रशासनले शनिबार रातिदेखि लागू हुने गरी राज्यका पाँच वटा जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरेको छ ।
यस्तै प्रहरीले एउटा जिल्लामा कर्फ्यू र अन्य चार वटा जिल्लामा मानिसहरूलाई भेला हुन र प्रदर्शन गर्नमा रोक लगाउने गरी निषेधाज्ञा जारी गरेको छ । त्यस्तै राजधानी इम्फालमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शनिबार राति मैतेइ जातिको स्वयंसेवक संगठन 'अरम्बाई टेंगोल-एटी' का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले गिरफतार गरेको खबर आएसँगै राजधानी इम्फालका केही क्षेत्रमा व्यापक विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बाल्नुका साथै सार्वजनिक बस र निजी सवारी साधनमा समेत आगजनी गरेका थिए ।
एटी स्वयंसेवक संगठनमाथि मैतेइ र कुकी समुदाय बीचको जातीय हिंसामा सहभागी भएको आरोप लाग्दै आएको छ । मणिपुरमा करीब दुई वर्षअघि मैतेइ र कुकी समुदायबीच जातीय हिंसा भड्किएको थियो भने यो अहिलेसम्म पूर्ण रुपमा शान्त हुन सकेको छैन ।
२७ मार्च २०२३ मा मणिपुर उच्च अदालतले मैतेइ जातिलाई अनुसूचित जनजातिमा सूचीकृत गर्नेबारे छिट्टै विचार गर्न राज्य सरकारलाई आदेश दिएपछि पहाडी क्षेत्रमा बसोबास गर्ने कुकी जातिले विरोध जनाएका थिए ।
विरोधको क्रम चर्किँदै गएपछि सोही वर्षको मेमा कुकी र मैतेइ जातीय हिंसा भड्किएको थियो भने त्यस क्रममा थुप्रै मानिसले ज्यान गुमाएका थिए । तनाव जारी रहेकाले २०२४ को फेब्रुअरीमा आएर उच्च अदालतले आफ्नो आदेशबाट उक्त विवादास्पद अंश हटाएको थियो ।
अदालतको उक्त कदमपछि पनि राज्यमा पूर्ण शान्ति भने कायम हुन सकेको छैन । मणिपुर सरकारका अनुसार जातीय हिंसामा अहिलेसम्म २ सय ५० भन्दा बढी मानिसले ज्यान गुमाएका छन ।