इटलीमा आप्रवासीका लागि नागरिकता कानून सरल बनाउनेबारे जनमत संग्रह

जेष्ठ २५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इटलीमा आप्रवासीका लागि नागरिकता कानून सरल बनाउनेबारे जनमत संग्रह

काठमाडौं । इटलीमा आप्रवासीकालागि नागरिकता प्राप्तीसम्बन्धि कानूनलाई सहज बनाउने वा नबनाउने सम्बन्धमा जनमत संग्रह हुँदैछ । आज आइतबार देखि सुरू भएको मतदान भोली सोमबारसम्म चल्नेछ ।

कुनै पनि आप्रवासीले इटलीको नागरिकताप्राप्तीका लागि आवेदन दिन १० वर्ष त्यहाँ बसोबास गरेकै हुनुपर्ने अहिलेको विद्यमान व्यवस्थालाई घटाएर ५ वर्षमा झार्ने नझार्ने सम्बन्धमा यो जनमत संग्रह भइरहेको हो । 

हाल इटालियन नागरिकसँग रगतको वा वैवाहिक सम्बन्ध नभएका गैर यूरोपेली आप्रवासीले १० वर्षको बसोबास पछि मात्रै नागरिकताकालागि आवेदन दिनसक्ने व्यवस्था रहेकोछ । आवेदन दिएपछि पनि नागरिकता प्राप्तीकालागि वर्षौ कुर्नुपर्ने हुन्छ । 

गैर सरकारीसंस्थाहरूले चलाएको अभियानका कारण त्यहाँ यस्तो जनमत संग्रह गरिएको हो । ५ वर्षको बसोबास अवधि कायम भएको अवस्थामा यो जर्मनी र फ्रान्समा कायम व्यवस्था सरह हुने र यसबाट करीब २५लाख आप्रवासी लाभान्वित हुने बताइएकोछ । 

प्रधानमन्त्री जोर्जिया मेलोनी भने यस्तो सुधारको विपक्षमा रहनु भएको र उहाँले आम नागरिकलाई मतदानलाई बहिष्कार गर्न आहृवान गर्नुभएको बताइएकोछ । योग्य मतदाताको ५० प्रतिशतभन्दा बढीले मतदान गरेमा मात्र जनमत संग्रह वैध मानिने भएकाले उहाँ र सत्ता गठबन्धनमा रहेका अन्य दलले मतदान बहिष्कारको आहृवान गरेका हुन् । 

इटलीको संविधान अनुसार कम्तिमा पाँच लाख मतदाताले हस्ताक्षरसहित आवेदन गरेको अवस्थामा सार्वजनिक महत्वका विषयमा जनमत संग्रह गराउनु पर्नेहुन्छ । न्युनतम बसाई अवधि ५ वर्षमा घटाउने प्रावधान स्वीकृत भएको अवस्थामा पनि विदेशी मातापिताबाट इटलीमै जन्मिएका युवाले भने १८ वर्षको उमेर पुरा भएपछि मात्रै नागरिकताकालागि आवेदन दिन पाउने व्यवस्था भने कायमै रहनेछ ।

जनमत संग्रहमा नागरिकता सहजिकरणसम्बन्धि प्रश्नका अतिरिक्त श्रमिकको रोजगार संरक्षणसम्बन्धि चार अन्य प्रश्न पनि रहेका छन ।