गाजाको दक्षिणी क्षेत्रस्थित सहायता वितरण केन्द्रमा इजरायलको गोलाबारी

६ जनाको मृत्यु, कैयौं घाइते
जेष्ठ २५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजाको दक्षिणी क्षेत्रस्थित सहायता वितरण केन्द्रमा इजरायलको गोलाबारी

काठमाडौं । गाजाको दक्षिणी क्षेत्रमा रहेको एक सहायता वितरण केन्द्रनजिकै इजरायली सेनाको गोलाबारीबाट ६ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् ।

शनिबार बिहान मानिसहरू खाद्यान्न लिन जम्मा भएका बेला इजरायली सेनाले गोली चलाएको हो । यसै साता वितरण केन्द्रमा पुग्ने प्रयास गर्दा दर्जनौं प्यालेस्टिनी मारिएका छन् भने सयौं घाइते भएका छन् । अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसनले भीडभाड र सुरक्षा अवस्थाका कारण सहायता केन्द्र बन्द गरेको बीबीसीले जनाएको छ । 

फाउन्डेसनले हमासबाट प्रत्यक्ष धम्कीका कारण खाद्यान्न वितरण गर्न नसकेको बताएको हो । कैयौं मानिसहरू राहत लिन इजरायली सैन्य क्षेत्र पार गर्दै जानुपर्ने हुन्छ । इजरायली सेनाले भने उक्त क्षेत्रमा युद्ध जारी रहेको बताएको छ ।