त्रिभुवन विश्वविद्यालयमा दलका भ्रातृ संगठनको मनपरी, उपकुलपतिको कार्यालयमा नेविसंघको तोडफोड र तालाबन्दी

सुरक्षा दिन विश्वविद्यालयको माग
जेष्ठ २६, २०८२ |नारायण किलम्बू
त्रिभुवन विश्वविद्यालयमा दलका भ्रातृ संगठनको मनपरी, उपकुलपतिको कार्यालयमा नेविसंघको तोडफोड र तालाबन्दी

काठमाडौं । मुलुककै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयमा अप्राज्ञिक गतिविधि बढेका छन् । कहिले कर्मचारी, कहिले प्राध्यापक त कहिले विद्यार्थीको तालाबन्दीले विश्वविद्यालयका शैक्षिक कार्यक्रम नै प्रभावित हुने गरेका छन् । 

अहिले फेरि सत्तारुढ दल निकट विद्यार्थी संगठन नेविसंघले विश्वविद्यालयमा तोडफोड र तालाबन्दी गरेको छ । यसले उच्च शिक्षा फेरि लथालिङ्ग हुने र विश्व समुदायमा समेत नकारात्मक सन्देश जाने जोखिम बढेको छ ।

सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार विश्वविद्यालयको उपकुलपति कार्यालय घेराउ गरी नाराबाजी गर्‍यो । स्ववियु निर्वाचन अघि रोकिएको स्नातक तहको भर्ना खोल्नुपर्ने माग गर्दै नेविसंघले नाराबाजी गरेको हो । यसअघि नेविसंघबाट निर्वाचित विभिन्न क्याम्पसका स्ववियु सभापतिहरूसहितको समूहले जेठ १४ गते निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीको सचिवालयमा तोडफोड नै गरेको थियो । 

उपकुलपतिको कुर्ची, टेबल लगायत कार्यालयका सामानमा क्षति पुगेको छ । नेविसंघका विद्यार्थीले उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरूले माग पूरा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई धम्की समेत दिँदै आएका छन् । विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुखको अन्तर्वाता रोक्नुपर्ने र आफ्ना मान्छे नियुक्ति गर्नुपर्ने भन्दै विद्यार्थीले धम्की दिने गरेको उपकुलपतिको कार्यालयको गुनासो छ । 

यसअघि पनि नेविसंघका विद्यार्थीले शिक्षाध्यक्षको कार्यकक्षमा तोडफोड गरेका थिए । त्यस बेला घटनामा संलग्नलाई कारबाही गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको थियो । अहिले पनि विश्वविद्लयले तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

उच्चशिक्षाको अध्ययन अध्यापन हुने प्राज्ञिक थलो विश्वविद्यालयमा हुने तोडफोडप्रति कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निन्दा गर्नुभएको छ । विद्यार्थीहरूले त्यस्तो कार्य गर्नु शोभनीय नभएको भन्दै उहाँले अनुशासित बन्न निर्देशन दिनुभएको छ ।

विगतमा पनि त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दलकै संरक्षणमा पदाधिकारीहरूमाथि आक्रमण भएका उदाहरण छन् । केही महिनाअघि तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले गृहमन्त्रीसमक्ष त्रिवि पदाधिकारीलाई सुरक्षा दिन आह्वान नै गर्नुभएको थियो । विभिन्न बहानामा हुने घेराउ, तालाबन्दी र तोडफोडले अन्तर्राष्ट्रिय जगतमै नराम्रो सन्देश गएको विश्वविद्यालयको भनाइ छ ।

त्यसो त सत्तारुढ दलबीच भागबन्डा नमिल्दा त्रिभुवन विश्वविद्यालयको उपकुपति नियुक्ति हुन सकेको छैन । त्यसले पनि विश्वविद्यालयको काम प्रभावित भइरहेको छ । त्यसमाथि विद्यार्थीले माग पूरा गराउने बहानामा तोडफोड र तालाबन्दी गर्दा विश्वविद्यालय नै अस्तव्यस्त बनेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।