अख्तियारद्वारा एकै दिन ६ वटा मुद्दा दायर

जेष्ठ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
अख्तियारद्वारा एकै दिन ६ वटा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एकै दिन ६ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । 

अख्तियारले काठमाडौं महानगरपालिका पूर्वइन्जिनीयर रामबाबु महतो कोइरीविरुद्ध ४ करोड ५८ लाख रुपैया गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको हो । त्यस्तै रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक, तराई पोस्टका प्रतिनिधि र प्रकाशक समेत ५ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

यस्तै पर्साको रामदेनी तिवारी निम्न माविका शिक्षक चन्देशकुमार चौहानले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारी लगायतलाई विभिन्न आयोजनामा ऋण सहजीकरण गरिदिने भन्दै घुस लिएर भ्रष्टाचार गरेको आरोपमा तीन वटा मुद्दा अख्तियारले दायर गरेको छ ।

यसअघि हिजो अख्तियारले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्दा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.