ट्रम्प र मस्कबीचको विवाद सतहमा, मस्कका कम्पनीसँगको सरकारी ठेक्का पुनरावलोकन गरिने ट्रम्पको चेतावनी

टेस्लाको शेयर मूल्यमा गिरावट
जेष्ठ २३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प र मस्कबीचको विवाद सतहमा, मस्कका कम्पनीसँगको सरकारी ठेक्का पुनरावलोकन गरिने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र उद्यमी एलोन मस्कको सम्बन्धमा तनाव देखिएको छ। लामो समयदेखि देखिँदै आएको मतभेद अहिले सार्वजनिक विवादमा रूपान्तरित भएको छ।

पछिल्लो सातादेखि एलोन मस्कले ट्रम्पको खर्च विधेयकप्रति असन्तुष्टि जनाउँदै सो विधेयकलाई गैरजिम्मेवार र राष्ट्रको दीर्घकालीन आर्थिक स्थायित्वविरूद्ध भएको आरोप लगाउनुभएको छ । 

उहाँले विधेयकको विरोधमा सक्रिय लबिइङसमेत गर्नुभएको जनाइएको छ। ओभल अफिसमा जर्मन चान्सलरसँगको भेटपछि ट्रम्पले मस्कप्रति गहिरो निराशा व्यक्त गर्नुभएको हो । मस्कलाई संघीय खर्च नियन्त्रणका लागि प्रशासनमा जिम्मेवारी दिइएको भए तापनि सो उद्देश्यअनुसार मस्कले काम गर्न नसकेको ट्रम्पको भनाइ छ ।

यसको प्रत्युत्तरमा मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत्  राष्ट्रपति ट्रम्पको आलोचना गर्दै एकपछि अर्को आक्षेप लगाउनुभएको छ। उहाँले ट्रम्पको नाम दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित अप्रकाशित कागजातहरूमा हुनसक्ने दाबी गरेपछि दुईबीचको विवाद झन् चर्किएको छ।

यस दाबीलाई अस्वीकार गर्दै ट्रम्पले मस्कलाई मानसिक रूपमा अस्थिर व्यवहार देखाएको आरोप पनि लगाउनुभएको छ । मस्कका कम्पनीहरूसँग रहेका सरकारी ठेक्काहरू समेत पुनरावलोकन गरिने ट्रम्पको चेतावनी छ। 

यस विवादको असर बजारमा प्रत्यक्ष देखिएको छ। शुक्रबार टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको र कम्पनीको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा तल झरेको जनाइएको छ। ए

लोन मस्कले अघिल्लो साता सरकारी खर्च नियन्त्रणका लागि सञ्चालित ‘प्रोजेक्ट डोज’बाट औपचारिक रूपमा राजीनामा दिनुभएको थियो । विश्लेषकहरूले दुवै प्रभावशाली व्यक्तिबीचको सार्वजनिक टकरावले अमेरिकी राजनीति र प्रविधि उद्योगमा दीर्घकालीन असर पार्न सक्ने विश्लेषण गरेका छन्।