हार्भर्डमा अध्ययन गर्न चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर

जेष्ठ २२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
हार्भर्डमा अध्ययन गर्न चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले हार्भर्ड विश्वविद्यालयमा अध्ययन वा शैक्षिक आदानप्रदान कार्यक्रममा सहभागी हुन चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पद्वारा जारी आदेशमा हार्भर्डलाई विदेशी विद्यार्थी लिइरहन दिँदा त्यसले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्ने उल्लेख गरिएको छ । 

यो आदेश प्रारम्भमा ६ महिनाका लागि लागू हुने र पछि समय थप्न समेत सकिने बताइएको छ ।

राष्ट्रपतिलाई अमेरिकी हितका लागि हानिकारक हुन सक्ने विदेशीको प्रवेश रोक्न सक्ने अधिकार दिने एउटा संघीय कानुनको प्रावधानलाई प्रयोग गर्दै ट्रम्पले यस्तो आदेश दिनुभएको हो । हार्भर्डसम्बन्धी उक्त आदेशमा आतंकारी संगठनसँग आबद्ध विदेशीको प्रवेश निषेध गर्नेसम्बन्धी कानुनको समेत उल्लेख गरिएको छ ।

हार्भर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिनबाट रोक लगाउने गरी आन्तरिक सुरक्षा मन्त्रालयले जारी गरेको आदेशलाई गत साता जिल्ला अदालतले रोक लगाइदिएको थियो । त्यही कारण बेग्लै कानुनको प्रयोग गरी ट्रम्पले हार्भर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई रोक्नुभएको हो ।

हार्भर्डले एक अर्को गैरकानूनी प्रतिकारात्मक कदम भन्दै ट्रम्पको नयाँ आदेशको आलोचना गरेको छ ।

देशकै पुरानो, प्रतिष्ठित र धनी विश्वविद्यालय हार्भर्डसँग जारी ट्रम्पको टकरावलाई यो नयाँ आदेशले थप बल्झाइदिएको छ ।

विदेशी विद्यार्थीका गतिविधि लगायतका विषयको जानकारी उपलब्ध गराउन दिइएको आदेश अस्वीकार गरे यता ट्रम्प प्रशासन र हार्भर्डबीचको सम्बन्धमा तिक्तता आएको हो । प्रतिकारस्वरूप ट्रम्प प्रशासनले हार्भर्डलाई दिइँदै आइएको अर्बौं डलरको सहायता रोक्का गर्नुका साथै विदेश विद्यार्थी भर्नाको अधिकार समेत खोस्ने निर्णय गरेको थियो ।