काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । रूसले युक्रेनमाथि हालै गरेको ड्रोन हमला र इरानसँग सम्बन्धित घटनाक्रमबारे ट्रम्पले पुटिनसँग छलफल गर्नुभएको हो ।
वार्ताका क्रममा पुटिनले ट्रम्पलाई युक्रेनी ड्रोन हमलाको जवाफ रूसले दिनुपर्ने बताउनु भएको छ । एक घण्टाभन्दा लामो टेलिफोन वार्ताका क्रममा ट्रम्पले रूस र युक्रेनबीच चलिरहेको आक्रमण 'तत्काल शान्ति ल्याउने विषयमा बाधक' भएको बताउनुभएको थियो ।
रूसको सरकारी समाचार एजेन्सी आरआईए नोवोस्तीले युक्रेनले वार्ता 'बाधित' पार्न खोजेको र किएभको सरकार 'अनिवार्य रूपमा आतंकवादी संगठनमा परिणत भएको' पुटिनले ट्रम्पलाई बताएको जनाएको छ।
एजेन्सीले दुई शीर्ष नेताले 'सहकार्य पुनः स्थापनाका सम्भावनाहरूबारे विचार आदानप्रदान गरेको, जसमा ठूलो सम्भावना रहेको थपेको छ।
युक्रेनले जुन १ मा रूसी हवाई अड्डाहरूमा आणविक क्षमताका लामो दूरीका बमवर्षकहरूलाई लक्षित गरी तस्करी गरिएका ड्रोनहरू प्रयोग गरेर आश्चर्यजनक हमला गरेपछि दुई नेताबीचको यो पहिलो टेलिफोन वार्ता हो।
ट्रम्पले पुटिनलाई उक्त हमलाको बारेमा अमेरिकालाई पहिले जानकारी नभएको बताएका थिए।