काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका आयात हुने स्टिल र एलुमिनियममाथिको आयात कर ५० प्रतिशत पुर्याउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । यो व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको छ । बेलायतलाई भने अस्थायी रूपमा छुट दिँदै आयात करलाई २५ प्रतिशतमै सीमित राखिएको छ ।
यसअघि ट्रम्पले गत मार्चदेखि लागू हुने गरी अमेरिका आयात हुने सबै स्टील र एलुमिनियममा २५ प्रतिशत कर लगाउनुभएको थियो । सत्ता सम्हालेदेखि नै राष्ट्रपति ट्रम्पले विश्वका देशहरूले अमेरिकाबाट आयात हुने वस्तुमा भारी कर लगाएर अस्वच्छ व्यापार गरिरहेको आरोप लगाउँदै आउनुभएको छ ।
अप्रिल २ मा ट्रम्पले जवाफी आयात कर भन्दै विश्वका अधिकांश देशमाथि कम्तीमा १० प्रतिशत र अन्य करिब ६० देशमाथि ५० प्रतिशतसम्म आयात करको घोषणा गर्नुभएको थियो । त्यसको केही दिनपछि नै ट्रम्पले चीन बाहेकका अन्य देशका लागि भन्दै उच्च आयात करलाई ९० दिन अर्थात् जुलाई ९ सम्मका लागि स्थगित गर्नुभएको थियो । स्टील र एलुमिनियममाथिको २५ प्रतिशत आयात कर भने यथावत राखिएको थियो ।
अमेरिकामा प्रयोग गरिने स्टीलमध्ये करीब एकचौथाइ भाग विदेशबाट आयात गरिन्छ । क्यानडा, ब्राजिल र मेक्सिको अमेरिकाका लागि प्रमुख निर्यातकर्ता देश हुन् भने एसियाली देशहरू जापान, दक्षिण कोरिया र जर्मनीबाट पनि ठूलो मात्रामा स्टील आयात गरिन्छ । चीन विश्वकै सबैभन्दा ठूलो स्टील उत्पादन र निर्यातकर्ता देश भए पनि उसले थोरै मात्र स्टील अमेरिका निर्यात गर्ने गर्दछ ।
एलुमिनियमका लागि भने अमेरिका मुलतः वैदेशिक आयातमै भर पर्ने गर्दछ । अमेरिकामा प्रयोग गरिने करिब आधाजसो एलुमिनियम विदेशबाटै आयात गरिन्छ । यसमध्ये सबैभन्दा बढी क्यानडाबाट र त्यसपछि संयुक्त अरब इमिरेट्स र चीनबाट आयात गरिन्छ ।