ट्रम्प प्रशासनद्वारा संसद्‍मा प्रस्तुत कर कटौती र खर्चसम्बन्धी विधेयक घृणित : मस्क

जेष्ठ २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प प्रशासनद्वारा संसद्‍मा प्रस्तुत कर कटौती र खर्चसम्बन्धी विधेयक घृणित : मस्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका अर्बपति मित्र तथा सहयोगी इलोन मस्कले ट्रम्प प्रशासनद्वारा संसद्‍मा प्रस्तुत कर कटौती र खर्चसम्बन्धी विधेयकलाई घृणित घृणा भन्दै आलोचना गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा मंगलबार एक पोस्ट गर्दै मस्कले ‘म क्षमा चाहन्छु तर म यसलाई धेरै सहन सक्दिनँ’ भन्नुभएको छ । आफ्नो ट्वीटमा मस्कले यसको पक्षमा मतदान गर्ने सांसदहरूलाई लाज लाग्नु पर्ने समेत उल्लेख गर्नुभएको छ । यसले बजेट घाटा व्यापक रूपमा वृद्धि गर्ने र अमेरिकी नागरिकमाथि ऋणको भारी थप्ने भन्दै आपत्ति जनाउनुभएको छ ।

संसदको तल्लो सदनले गत महिना केवल एक मतको अन्तरले उक्त विधेयक पारित गरेको थियो भने माथिल्लो सदन सिनेटले आगामी महिना यो विधेयक पारित गर्ने अपेक्षा गरिएको छ । यद्यपि केही रिपब्लिकन सिनेटरहरूले बजेटमा छुट्याइएको खर्चप्रति चिन्ता व्यक्त गरेको र उनीहरूले यसमा संशोधनको प्रयास गर्न सक्ने बताइएको छ । 

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेट दुवैमा रिपब्लिकनको बहुमत रहेको छ ।

ट्रम्पले ‘बिग ब्युटिफुल बिल’ नाम दिएको यो खर्च विधेयकमा दशौं खर्ब कर छुटका साथै रक्षा खर्चमा वृद्धि र अवैध आप्रवासी निष्कासनका लागि पनि रकम छुट्याइएको छ । साथै यो विधेयकमा सरकारले ऋण लिने सीमा बढाएर ४० खर्ब पुर्याउने प्रस्ताव गरिएको छ ।

स्वास्थ्य र खाद्य सहायता कार्यक्रमा व्यापक खर्च कटौतीका बावजुद यो विधेयकले आगामी आर्थिक वर्षमा बजेट घाटा थप ६ खर्बले बढाउने बताइएको छ । यो विधेयकले अमेरिकी सरकारले दिने वैदेशिक सहायता रकममा पनि व्यापक कटौती गर्ने बताइएको छ । यसैगरी यो बजेटले संघीय सरकारको हाल कायम ३६२ खर्ब डलरको ऋणमा ३८ खर्ब ऋण थप्ने बताइएको छ ।

चार दिनअघि मात्रै सरकारी खर्च कटौती सम्बन्धी विवादास्पद विभाग डोजको प्रमुख पदबाट हटेका मस्कले सार्वजनिक रूपमै ट्रम्पप्रति यति कडा असहमति प्रकट गरेको यो पहिलो पटक हो । यद्यपि यसअघि पनि उहाँले बजेट घाटा कम गर्ने प्रयासमा बाधक भन्दै यो विधेयकप्रति असन्तुष्टि जनाउनुभएको थियो ।